राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चाडपर्वका अवसरमा शुभकामना आदानप्रदान गर्दा उपहार, नगद, जिन्सी वा अन्य कुनै सुविधा नलिन र नदिन अपिल गरेको छ।
पार्टीका महामन्त्री विपिन कुमार आचार्यले शुक्रबार जारी गरेको विज्ञप्तिमा बडादसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वका अवसरमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गरिएको छ। सोही विज्ञप्तिमार्फत चाडपर्वको शुभकामना साटासाटका बेला उपहार, नगद वा जिन्सी लिने-दिने काम नगर्न र नगराउन उनले आग्रह गरेका हुन्।
रास्वपाले स्थापनाकालदेखि नै यस्ता लेनदेनलाई निरुत्साहित गर्दै आएको उल्लेख गर्दै यो मान्यतामा आफूहरू अडिग रहेको स्पष्ट पारेको छ। परिवार र आफन्तबाट चाडपर्वमा केवल आशीर्वादको अपेक्षा गरिएजस्तै राजनीतिमा नागरिकहरूको सद्भाव, आशीर्वाद र विश्वास नै आफूहरूका लागि सबैभन्दा ठूलो उपहार भएको विज्ञप्तिमा उल्लेख छ।
साथै पार्टीले मर्यादित, सुसंस्कृत र भरोसायोग्य राजनीतिक संस्कार निर्माणका लागि सबैको साथ र सहयोगको अपेक्षा गरेको छ।
