चितवन — नेपाल र भारतबीच पर्यटन प्रवर्द्धन र व्यावसायिक सम्बन्ध विस्तार गर्न संयुक्त परिषद् स्थापना गरिने भएको छ। कात्तिक ८ देखि १० गतेसम्म चितवनमा आयोजित ‘नेपाल–भारत क्रस–बोर्डर टुरिजम कनेक्ट २०२६’ मा यसबारे निर्णय भएको हो। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् र समृद्ध चितवन अभियानले कार्यक्रम आयोजना गरेका थिए।
कार्यक्रमले नेपालमा भारतीय पर्यटकको आगमन बढाउने, भारतमा नेपाली पर्यटनको प्रवर्द्धन गर्ने र दुवै देशका पर्यटन व्यवसायीबीच दीर्घकालीन साझेदारी विकास गर्ने लक्ष्य राखेको छ। प्रस्तावित परिषद्मा दुवै देशका पर्यटन विज्ञ, ट्राभल तथा टुर अपरेटर, होटल तथा रिसोर्ट सञ्चालक र आतिथ्य क्षेत्रका विशेषज्ञ रहनेछन्।
संयुक्त गन्तव्य प्रचार, प्रत्यक्ष भेटघाट, संयुक्त प्याकेज निर्माण, अनुभव आदानप्रदान र सञ्जाल कार्यक्रम परिषद्का काम हुनेछन्। कार्यक्रममा लुम्बिनी प्रदेश पर्यटन प्रवर्द्धन परिषद्का कार्यकारी निर्देशक शारदा बस्याल बेलबासे, ट्राभल ट्रेड वेलफेयर एसोसिएसन अफ इन्डियाका अध्यक्ष राजेश सिंह, इन्डो–नेपाल टुरिजम वेलफेयर सोसाइटीका प्रतिनिधि डा. केपी सिंह र गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का वरिष्ठ उपाध्यक्ष रोविनप्रसाद शेरचन सहभागी थिए।
सहभागी टोलीले रामग्राम, अमलटारी, मौलाकालिका, सौराहा, मेघौली तथा चितवन र नवलपुरका गन्तव्य, होटल र रिसोर्टको अवलोकन गर्यो। उनीहरूले रामग्रामको धार्मिक तथा ऐतिहासिक महत्व, अमलटारीको थारू संस्कृति, मौलाकालिकाको धार्मिक पर्यटन, सौराहाको जंगल सफारी र मेघौली तथा नवलपुरको प्राकृतिक सौन्दर्य र आतिथ्य सेवाबारे जानकारी लिए।
कार्यक्रममा नेपाली होटल तथा रिसोर्ट सञ्चालक र भारतीय ट्राभल तथा टुर अपरेटरबीच भेटघाट र व्यावसायिक अन्तरक्रिया भयो। गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का प्रवक्ता सोमनाथ सापकोटाका अनुसार नेपाली गन्तव्यलाई भारतीय बजारसँग जोड्ने र प्याकेज बनाउने विषयमा छलफल भएको थियो। यो कार्यक्रमले नेपाललाई भारतीय पर्यटकका लागि आकर्षक गन्तव्यका रूपमा चिनाउन र नयाँ अवसर सिर्जना गर्न सहयोग पुग्ने उनले बताए।
