काभ्रे — बाढीले क्षतिग्रस्त बीपी राजमार्गको पुनःनिर्माणले गति लिएको छ। सिन्धुलीको बर्खेखोला–पिप्ले सडकखण्डमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पुनःनिर्माण सुरु गरेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ। सो खण्डका लागि जाइकासँग दुई अर्ब ६० करोड रुपैयाँको सम्झौता भएको छ।
डिभिजन प्रमुख सुमन योगेशका अनुसार पिप्लेदेखि काभ्रेपलाञ्चोकको भकुण्डेबेँशीसम्मको खण्डमा अहिलेसम्म ५२ प्रतिशत भौतिक प्रगति भएको छ। डालाबेँशीदेखि चारसयबेँशीसम्मको आठ दशमलव पाँच किलोमिटर सडक निर्माणको जिम्मा पाएको खानी–एवान–कमलजीत जेभीले २०८४ सालको जेठ मसान्तसम्म काम सक्ने जनाएको छ।
चारसयबेँशीदेखि भकुण्डेबेँशीसम्मको ११ दशमलव आठ किलोमिटर सडक लामा–नवकान्तिपुर जेभीले २०८४ असार १७ गतेभित्र सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाएको छ। पिप्लेदेखि डालाबेँशीसम्मको दुई दशमलव तीन किलोमिटर खण्डको जिम्मा पाएको उमा एण्ड कम्पनी–भण्डारी जेभीले २०८४ कात्तिक २६ गतेसम्म निर्माण सक्नेछ।
२०८१ साल असोजको दोस्रो साता रोशी खोलामा आएको बाढीले काभ्रेको नमोबुद्धस्थित दाप्चाखोला १ नम्बर पुलदेखि सिन्धुलीको नेपालथोकसम्म २९ किलोमिटर सडक पूर्णरूपमा क्षति भएको थियो। काभ्रेपलाञ्चोकतर्फको २५ दशमलव ११ किलोमिटर सडक तीन खण्डमा पुनःनिर्माण भइरहेको छ। क्षतिग्रस्त राजमार्गलाई ‘डेडिकेटेड डबल लेन’ मा पुनःनिर्माण गरिँदै छ।
तीनवटै खण्डका लागि सरकारले कुल आठ अर्ब ५० करोड रुपैयाँको स्रोत सहमति दिएको छ। त्यसमा काभ्रेपलाञ्चोकतर्फका तीन खण्डलाई सात अर्ब ५० करोड र सिन्धुलीतर्फको एक खण्डलाई एक अर्ब रुपैयाँ छुट्याइएको छ। पाँचवटा पुललाई दुई लेनमा परिणत गर्ने योजना छ भने तीनवटै खण्डमा छ दशमलव तीन किलोमिटर आरसीसी पर्खाल निर्माण हुनेछ।
हाल पुनःनिर्मित सडकबाटै सवारी आवागमन भइरहेको छ। एक–दुई स्थानमा साँघुरो भएकाले डाइभर्सन बनाएर दुईतर्फी आवागमन गराइएको छ। चौकीडाँडा र पिन्थलीमा भिरालो भएकाले मर्मत र डाइभर्सनको व्यवस्था गरिएको छ। वर्षा भएर सडकमा लेदो तथा पहिरो खसेमा आधादेखि केही घण्टाभित्रै सडक खुलाउने गरी सामग्री व्यवस्थापन गरिएको डिभिजन प्रमुख योगेशले बताए।
धुलिखेल–सिन्धुली–बर्दिबास १६० किलोमिटर लामो यो राजमार्ग जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३–०५४ देखि निर्माण सुरु गरिएको थियो। खण्डखण्डमा निर्माण सम्पन्न भएको राजमार्ग २०७२ असार १८ गते जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।
