तनहुँको म्याग्दे गाउँपालिका–२ स्थित जामुनेमा शनिबार दिउँसो तीनवटा सवारीसाधन एकपछि अर्को ठोक्किँदा दुई जना घाइते भएका छन्। पृथ्वीराजमार्गको उक्त खण्डमा भएको दुर्घटनामा विद्युतीय माइक्रोका चालक र एक बालिका घाइते भएका हुन्।
दमौलीबाट पोखरातर्फ जाँदै गरेको स्कारपिओ र विपरीत दिशाबाट आइरहेको विद्युतीय माइक्रो सुरुमा जुधेका थिए। ठक्करपछि नियन्त्रण गुमाएको स्कारपिओ सडकको बीच भागमा रहेको डिभाइडर नाघेर अर्को लेनमा पुगेको थियो। त्यसपछि उक्त स्कारपिओ पोखराबाट दमौलीतर्फ जाँदै गरेको टाटा सुमोसँग ठोक्किएको थियो। यसरी छोटो समयमै तीनवटै सवारीसाधन दुर्घटनामा परेका हुन्।
दुर्घटनामा विद्युतीय माइक्रोका चालक शुक्लागण्डकी नगरपालिका–६ निवासी ३२ वर्षीय सुमन परियार र माइक्रोमा सवार व्यास नगरपालिका–१४ निवासी ९ वर्षीया जेनिशा परियार घाइते भएका छन्। दुवैको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिएका छन्।
प्रहरीले दुर्घटनामा संलग्न सवारीसाधन र घटनाको थप विवरणबारे अनुसन्धान गरिरहेको छ। पृथ्वीराजमार्गको व्यस्त खण्डमा भएको यो दुर्घटनापछि केही समय यातायात प्रभावित भएको थियो।
