झापा जिल्ला प्रशासन कार्यालयले चाडबाडको मौसममा भारतबाट अवैध रूपमा भित्रिने फूल र प्लास्टिकबाट बनेका कृत्रिम फूल नियन्त्रण गर्न सुरक्षा निकायलाई निर्देशन दिएको छ। प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सार्वजनिक सूचना जारी गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन यस्तो कदम चालिएको जानकारी दिएका छन्।
खुला सीमाको फाइदा उठाउँदै तिहार, छठलगायत पर्वमा ठूलो मात्रामा फूल भारतबाट अवैध रूपमा आयात हुँदै आएको प्रशासनको भनाइ छ। यसले जिल्लाका किसानको उत्पादन खेर जाने गरेको भन्दै उनीहरूले सामूहिक रूपमा आयातमाथि पूर्ण प्रतिबन्ध लगाउन माग गर्दै आएका थिए।
प्रजिअ पोखरेलले जिल्लालाई पुग्ने फूल यहीँका व्यवसायीले उत्पादन गरिसकेको बताउँदै युवामा उद्यमशील सोच र संस्कृति मौलाउँदै गएकाले यसपालिको चाडबाडमा स्वदेशी सयपत्री र मखमली फूलकै प्रयोग गरेर आफ्नै किसानलाई प्रोत्साहन गर्न सबै जिल्लावासीलाई आग्रह गरेका छन्।
यस वर्ष मेचीनगर, बिर्तामोड, दमक, शिवसताक्षी, कनकाई र बुद्धशान्तिलगायत पालिकामा दर्जनौँ किसानले व्यावसायिक रूपमा सयपत्री खेती गरेका छन्। चाडबाडमा घरआँगन सजावटका लागि स्थानीय रूपमा उत्पादित प्राकृतिक फूल नै पर्याप्त हुने अनुमान छ।
प्रशासनको कदमले सीमावर्ती क्षेत्रबाट हुने अवैध आयात रोकिने र स्थानीय उत्पादकले आफ्नो मिहेनतको उचित मूल्य पाउने मेचीनगर–४ का नीलकण्ठ तिवारीले बताए। प्रचलित कानुनले निषेध गरेका प्लास्टिकका फूल बिक्री–वितरण वा भण्डारण गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ।
