तनहुँ। गत असोज ९ देखि ११ गतेसम्मको अविरल वर्षासँगै आएको बाढीपहिरोले तनहुँका विभिन्न सडक, पुल र कल्भर्टमा क्षति पुर्याएको छ। क्षति भएका संरचनाको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि जिल्ला विपद् व्यवस्थापन समितिले सम्बन्धित निकायमा सिफारिस गरेको छ।
समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार क्षति पुगेका सडक तथा संरचनाको विवरण सङ्कलन गरी आवश्यक पुनर्निर्माण र मर्मतका लागि सम्बन्धित कार्यालय तथा मन्त्रालयमा सिफारिस गरिएको हो।
घिरिङ गाउँपालिकाका विभिन्न स्थानमा सडक भासिने, पुलको ब्याकफिलिङ बगाउने, सडकमा चिरा पर्ने, खोलाले बस्ती जोखिममा पार्ने तथा कल्भर्टका संरचनामा क्षति पुग्ने समस्या देखिएको छ। क्षति भएका संरचनाको मर्मतका लागि पूर्वाधार विकास कार्यालय तनहुँ र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयमा सिफारिस गरिएको उनले बताए।
घिरिङ–१ स्थित द्रोपती खोलाको पुलको ब्याकफिलिङ बगाएको छ। पुलको दुवैतर्फ सडकसँग जोडिने भागमा क्षति पुग्दा आवागमनमा समस्या हुन सक्ने भएकाले मर्मत तथा पुनर्निर्माण आवश्यक देखिएको छ। उक्त संरचनाको मर्मतका लागि पूर्वाधार विकास कार्यालय तनहुँ र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयमा सिफारिस गरिएको छ।
त्यस्तै, घिरिङ–३ स्थित भैरव मोटरमार्ग भासिएको छ। वर्षाका कारण सडकको भाग भासिएपछि सडकलाई सुरक्षित र नियमित सञ्चालनका लागि मर्मतसम्भार आवश्यक देखिएको छ। उक्त सडकको पुनर्निर्माण तथा मर्मतका लागि पूर्वाधार विकास कार्यालय तनहुँमा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए।
घिरिङ–१ स्थित ठूलोफेदी खोलाले बस्तीमा क्षति पुर्याउन सक्ने जोखिम देखिएको छ। खोलाको कटानका कारण बस्ती संरक्षणका लागि रिटेनिङ वाल निर्माण गर्नुपर्ने उहाँले बताउनुभयो। सम्भावित क्षति घटाउँदै बस्तीको सुरक्षा सुनिश्चित गर्न आवश्यक संरचना निर्माणका लागि पूर्वाधार विकास कार्यालय तनहुँमा सिफारिस गरिएको छ।
यसैगरी, घिरिङ–४ स्थित शालिग्राम करिडोरमा तिरन्दी खोलाको पुलको छेउमा क्षति पुगेको छ। पुलको साइडमा क्षति पुग्दा संरचनाको सुरक्षामा असर पर्न सक्ने भएकाले आवश्यक मर्मतका लागि सम्बन्धित निकायमा सिफारिस गरिएको छ। घिरिङ–३ स्थित गाबुडाँडा–नयाँटार सडकखण्डमा चिरा परेको र घिरिङ–४ स्थित तिन्दीखोला कल्भर्टको तल्लो भागमा लगाइएको जाली बगाएकाले ती स्थानमा पनि मर्मतका लागि पूर्वाधार विकास कार्यालय तनहुँमा सिफारिस गरिएको छ।
