काठमाडौं । वित्तीय प्रणालीमा जम्मा भएको अतिरिक्त पैसा घटाउन नेपाल राष्ट्र बैंकले बिहीबारदेखि आठ दिनका लागि ठूलो रकम बजारबाट फिर्ता लिने भएको छ । केन्द्रीय बैंकले यस पटक डेढ खर्ब रुपैयाँ खिच्ने तयारी गरेको हो । पछिल्ला दिनमा बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिँदै गएपछि यस्तो कदम चालिन लागेको हो ।
चाडपर्वका बेला विदेशबाट आउने रेमिट्यान्स बढ्ने भएकाले प्रणालीमा तरलता झनै बढेको छ । अहिले वित्तीय संस्थाहरूको १३ खर्ब ८६ अर्ब रुपैयाँ केन्द्रीय बैंकमा जम्मा भएको छ । निक्षेप निरन्तर बढिरहँदा कर्जाको माग भने घटेकाले अतिरिक्त तरलता सिर्जना भएको हो । गत साउनमा मात्र २ खर्ब १५ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । रसुवा बाढीपछि प्राप्त वैदेशिक सहयोगले पनि तरलता बढाएको केन्द्रीय बैंकको भनाइ छ ।
अतिरिक्त तरलता बढ्दा अल्पकालीन ब्याजदर घट्ने भएकाले केन्द्रीय बैंकले अन्तरबैंक ब्याजदर २ दशमलव ७५ प्रतिशतभन्दा तल झर्न नदिने नीति लिएको छ । त्यसका लागि निक्षेप संकलन, राष्ट्र बैंक ऋणपत्र र स्थायी निक्षेप सुविधाजस्ता उपकरण प्रयोग हुँदै आएका छन् । बिहीबार प्रणालीमा करिब ५५ अर्ब रुपैयाँ तरलता रहेको छ । यसअघि केन्द्रीय बैंकमा राखिएको रकमको अवधि सकिएपछि त्यसलाई फेरि खिच्न नयाँ उपकरण जारी गर्न लागिएको हो ।
हाल बैंक दर ५ दशमलव ७५ प्रतिशत र स्थायी निक्षेप सुविधा दर २ दशमलव ७५ प्रतिशत रहेको छ । तरलता पठाउँदा बैंक दरमा ब्याज लिइन्छ भने खिच्दा स्थायी निक्षेप सुविधा दर बराबर ब्याज दिइन्छ ।
