काठमाडौं — आज दसैँको सातौँ दिन, अर्थात् आश्विन शुक्ल सप्तमी । आज दिउँसो (अपराह्नकाल) मा परम्परागत विधिअनुसार घरघरमा फूलपाती भित्र्याइने भएको छ ।
फूलपाती भित्र्याइसकेपछि दसैँ घर वा पूजा कोठामा नवदुर्गामध्येकी सातौँ देवी कालरात्रीको विधिपूर्वक पूजाआराधना गरिन्छ । नवरात्रका हरेक दिन फरक-फरक देवीको पूजा गर्ने चलन छ । घटस्थापनाका दिन शैलपुत्रीको आह्वान र घटस्थापनासँगै जमरा राखिएको थियो । त्यसपछि क्रमशः ब्रह्मचारिणी, चन्द्रघण्टा, कूष्माण्डा, स्कन्दमाता र कात्यायनीको पूजा सम्पन्न भइसकेको छ । सप्तमीमा कालरात्रीको पूजा हुने छ भने अष्टमीमा महागौरी र नवमीमा सिद्धिदात्रीको आराधना हुनेछ ।
नवरात्रभरि घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवतलगायत देवीस्तोत्रहरूको पाठपारायण गर्ने परम्परा छ । नवरात्रमा देवीलाई विधिपूर्वक पूजा गर्दा शक्ति, ऐश्वर्य र विद्याको प्राप्ति हुने धार्मिक विश्वास छ । यस अवधिमा देशभरका शक्तिपीठहरूमा दर्शनार्थीको घुइँचो लागेको छ ।
नवरात्रका नौ दिनको पूजाको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म लगाउने भएकाले नेपालीहरू पन्ध्र दिनसम्म बडादसैँ मनाउँछन् ।
