म्याड्रिड । स्पेनिस फुटबलको दिग्गज क्लब रियल म्याड्रिडले ला लिगाका अध्यक्ष हाभियर तेबासको तुरुन्त राजीनामा मागेको छ । तेबासले क्लबको सञ्चार शैलीलाई नाजी जर्मनीका प्रचारमन्त्री जोसेफ गोयबल्ससँग तुलना गरेपछि क्लबले यस्तो कडा कदम चालेको हो ।
तेबासले शुक्रबार सामाजिक सञ्जाल एक्समा लेखेका लामो सन्देशमा रियल म्याड्रिडको व्यवस्थापनले मिडियाको एउटा समूहलाई नै ‘अर्केस्ट्रा’ जस्तै परिचालन गरिरहेको आरोप लगाएका थिए । उनले क्लबको आफ्नै टेलिभिजन च्यानलले त्यसको नेतृत्व गरिरहेको भन्दै रियल म्याड्रिड टिभीले आफू अनुकूलका दृश्य मात्र छान्ने, गुनासा दोहोर्याउने, शङ्का बढाउने र विरोधीलाई निशाना बनाउने शैली अपनाएको दाबी गरेका थिए । ‘यो तरिका गोयबल्सले प्रयोग गरेका प्रचार संयन्त्रसँग मिल्दोजुल्दो छ’ भन्ने उनको टिप्पणीले स्पेनिस फुटबलमा हलचल मच्चाएको हो ।
रियल म्याड्रिडले जारी गरेको विज्ञप्तिमा तेबासको अभिव्यक्तिलाई गहिरो अपमानजनक र नैतिक रूपमा घिनलाग्दो भनिएको छ । क्लबले उनलाई ला लिगाको अध्यक्ष पदसँगै स्पेनिस फुटबल महासंघको उपाध्यक्ष पदबाट पनि राजीनामा दिन आग्रह गरेको छ । विज्ञप्तिमा उच्च ओहोदामा रहेका व्यक्तिले क्लब, व्यवस्थापन र टेलिभिजनलाई बदनाम गर्न नाजी शासनको प्रचार शैलीसँग तुलना गर्नु अत्यन्त गम्भीर र अक्षम्य भएको उल्लेख छ ।
यसैबीच तेबासले आफूले विचारधारा होइन, प्रचार प्रविधिसँग मात्र तुलना गरेको भन्दै स्पष्टीकरण दिएका छन् । तर रियल म्याड्रिडले उक्त स्पष्टीकरण अस्वीकार गर्दै त्यसले अभिव्यक्तिको संस्थागत अयोग्यता कम नगर्ने जनाएको छ ।
क्लबका अनुसार यी टिप्पणी तेबासले गर्दै आएका शृङ्खलाबद्ध आक्रमणको नयाँ कडी मात्र हुन् । गत महिना पनि उनले रेफ्रीहरूले क्लबविरुद्ध षड्यन्त्र गरिरहेको भन्ने रियल म्याड्रिडको दाबीको आलोचना गरेका थिए । सन् २०२१ मा युरोपियन सुपर लिगको योजनामा क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजसँग असहमति भएदेखि नै उनी रियल म्याड्रिडप्रति आक्रामक बन्दै आएका छन् ।
