राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ को अवसरमा स्वदेश र विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र निरन्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
दसैँका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले यस चाडले पारिवारिक भेटघाट, सामाजिक सद्भाव, क्षमा र भाइचारालाई बलियो बनाउन ठूलो भूमिका खेल्ने बताए।
बहुजातीय, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक नेपालमा सबै समुदायका आ–आफ्नै परम्परा रहे पनि दसैँले भौगोलिक, सांस्कृतिक र भाषिक विविधताबीचको सामाजिक एकतालाई सुदृढ गर्न सघाउने उनको भनाइ छ। यस पर्वले नेपालीहरूको सांस्कृतिक एकता र राष्ट्रिय पहिचानलाई जीवित राख्न सहयोग गर्ने राष्ट्रपतिले उल्लेख गरे।
विजया दशमीका दिन दुर्गा भगवतीले दानवी शक्तिमाथि र भगवान् रामले रावणमाथि विजय हासिल गरेको धार्मिक मान्यतालाई सम्झँदै राष्ट्रपतिले दसैँ अन्यायमाथि न्याय र असत्यमाथि सत्यको विजयको पर्व भएको बताए। उनका अनुसार दसैँमा परिवारका सदस्यबीच पुनर्मिलन हुँदा खुसी र हार्दिकता साटासाट हुने भएकाले यसको पारिवारिक, सामाजिक, धार्मिक, सांस्कृतिक र राष्ट्रिय महत्व छ।
यसैबीच, राष्ट्रपति पौडेलले देशका विभिन्न भागमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले शोकसन्तप्त परिवारमा गहिरो समवेदना व्यक्त गरे र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरे। बाढी प्रभावित नागरिकको पुनःस्थापनाका लागि सबै पक्ष एकताबद्ध भएर अघि बढ्न राष्ट्रपतिले अपिल गरेका छन्।
