काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले न्यायालयमा देखिएको विकृति हटाउन संरचनागत सुधार अपरिहार्य भएको बताएकी छन् । एक–दुई जनामाथि महाभियोग लगाउँदैमा समग्र न्यायालय सुध्रिने उनको भनाइ छैन ।
सोमबार नेपाली कांग्रेसको आह्वानमा सिंहदरबारमा बसेको प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले सर्वोच्च अदालतका न्यायाधीश र प्रधानन्यायाधीशको नाम जोडिएर सार्वजनिक भएका घटनाले सर्वसाधारणको न्यायालयप्रतिको विश्वास कमजोर बनाएको बताइन् ।
आम नागरिकले अन्य प्रशासनिक निकायप्रति विश्वास नगरे पनि न्यायालयप्रति भने विश्वास गरिरहेका हुन्छन् भन्दै उनले न्यायालयमा व्यापक सुधार आवश्यक रहेको धारणा राखिन् । छानबिनका क्रममा प्रमाण कस्तो देखिन्छ, त्यसपछि राप्रपाले आधिकारिक धारणा बनाउने उनले बताइन् ।
न्यायालयको विषयलाई संसद्मा गम्भीर बहसको विषय बनाउनुपर्ने भन्दै उनले यथाशिघ्र संसद् आह्वान गर्न माग गरिन् । प्रहरी र सरकारबीचको सम्बन्ध तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्तिबारे पनि संसद्मा छलफल हुनुपर्ने उनको भनाइ थियो ।
