काठमाडौं । परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले चीनसँगका वैकल्पिक नाकाबाट व्यापारिक गतिविधि अघि बढाउने विषयमा छलफल भइरहेको जानकारी दिएका छन् ।
सोमबार सिंहदरबारमा बसेको भोटेकोशी तथा कालीगण्डकी कोरिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा राईले हाल तातोपानी नाकालाई प्राथमिकता दिइए पनि कोरला नाका र दोलखाको लामाबगर नाकाबाट व्यापार र सडक सञ्जाल प्रभावकारी बनाउने विषयमा छलफल भइरहेको बताए ।
विश्वव्यापी तापक्रम वृद्धि र हिमाल पग्लने क्रमले तातोपानीलगायतका नाका उच्च जोखिममा रहेकाले भविष्यमा वैकल्पिक वा नदी बेसिनमा आधारित नयाँ नाका विकास गर्नुपर्ने उनको भनाइ थियो । चीनसँगको सहकार्यमा आउन सक्ने जोखिम न्यूनीकरण गर्न भरपर्दो पूर्वसूचना प्रणाली र संयुक्त संयन्त्र बनाउन सरकार क्रियाशील रहेको उनले बताए ।
भोटेकोशी बाढीपछि दुर्गम क्षेत्रमा हेलिकप्टर अवतरण गराउन र मानिसलाई सुरक्षित स्थानमा सार्न कठिनाइ भए पनि सुरक्षा फौजले अवस्थाको आकलन गरी तत्काल उद्धार अघि बढाएको उनले जानकारी दिए । विपद् व्यवस्थापन तथा राहतका लागि प्राप्त २० मिलियन रकमबाहेक परियोजनामा आधारित सहयोग र राहत वितरणका लागि कृषि, वन तथा वातावरण मन्त्रालयले समन्वय गरिरहेको उनले बताए ।
बैठकमा समितिका सदस्यहरूले जलवायु परिवर्तनबाट नेपाललाई भएको क्षति र यसका असरबारे अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी कूटनीतिक पहल अघि बढाउनुपर्ने धारणा राखेका थिए ।
