नेपाल जेन-जी फ्रन्टले सञ्चारमाध्यमको समाचार कक्षमै प्रहरी प्रवेश गराएर पत्रकार पक्राउ गरिएको घटनाबारे संसदीय छानबिन गर्न माग गरेको छ।
आइतबार विज्ञप्ति जारी गर्दै फ्रन्टले घटनामा प्रधानमन्त्रीको सचिवालय, गृह मन्त्रालय र प्रहरी प्रशासनले जिम्मेवारीबाट पन्छिन खोजेको भन्दै संसद्मार्फत जवाफदेहिता सुनिश्चित गर्न माग गरेको हो।
समाचारको स्रोत पत्ता लगाउने नाममा समाचार कक्षमै प्रहरी प्रवेश गर्नु अभिव्यक्ति स्वतन्त्रता, लोकतन्त्र र संविधानमाथिको ठाडो प्रहार भएको फ्रन्टको ठहर छ। प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रशासनले घटनाबारे अनभिज्ञता प्रकट गर्दै जिम्मेवारी अस्वीकार गरेको भन्दै फ्रन्टले सरकारले नै घटनाको निष्पक्ष छानबिन गर्न नसक्ने निष्कर्षमा पुगेको जनाएको छ।
फ्रन्टले सत्ता र प्रतिपक्ष दुवै पक्षका राजनीतिक दललाई घटनाबारे स्पष्ट धारणा सार्वजनिक गर्न र गृहमन्त्री तथा प्रहरी नेतृत्वको जवाफदेहिताका लागि संयुक्त दबाब सिर्जना गर्न आग्रह गरेको छ।
त्यस्तै, प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सहभागितामा संसदीय छानबिन समिति गठन गरी प्रधानमन्त्रीको सचिवालयका कर्मचारी, गृहमन्त्री, प्रहरी महानिरीक्षक र जिम्मेवार प्रहरी अधिकारीलाई बोलाएर स्पष्टीकरण लिन माग गरिएको छ।
पक्राउको आदेश कसले दिएको हो र त्यसको कानुनी आधार के थियो भन्ने यकिन गरी तोकिएको समयभित्र प्रतिवेदन सार्वजनिक गर्नुपर्ने फ्रन्टको माग छ। घटनामा संलग्न दोषीमाथि प्रेस स्वतन्त्रता र मानव अधिकार उल्लंघनमा हदैसम्मको कारबाही गर्न पनि उसले माग गरेको छ।
यसैगरी, संसद्मा गम्भीर छलफल गरी प्रेस स्वतन्त्रताको संरक्षणप्रति स्पष्ट प्रतिबद्धता जनाउन र विद्युतीय कारोबार ऐनको दफा ४७ खारेज वा संशोधन गर्ने प्रक्रिया अघि बढाउन फ्रन्टले माग गरेको छ।
विज्ञप्तिमा फ्रन्टका संयोजक रक्षा बमले अभिव्यक्ति स्वतन्त्रता र संविधानको रक्षाका लागि निरन्तर सतर्क, मुखर र संगठित भएर उभिने बताएकी छन्।
