प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले शुक्रबार विभिन्न सञ्चारमाध्यमका कार्यालयभित्रै प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटनामा प्रधानमन्त्री, उनको सचिवालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको कुनै संलग्नता नरहेको बताएकी छन्।
दाहालले पछिल्ला दिनमा विकसित घटनाक्रमबारे प्रधानमन्त्री र उनको कार्यालयलाई कुनै जानकारी नभएको समेत स्पष्ट पारिन्। उनले आजसम्म भएका सबै घटनामा प्रधानमन्त्री, सचिवालय र मन्त्रिपरिषद् कार्यालयको कुनै भूमिका नरहेको र आफूहरूलाई यसबारे केही थाहा नभएको बताइन्।
शुक्रबार काठमाडौंमा प्रहरीले विभिन्न अनलाइन सञ्चारमाध्यमका कार्यालय पुगेर तीन जना पत्रकारलाई नियन्त्रणमा लिएको थियो भने थप तीन जनाको खोजी गरिरहेको छ। नेपाल प्रेसका विश्वमणि सुवेदी, डीएनए खबरका धिरज बस्नेत र मोटिभेट न्युजका शोभराज बराल पक्राउ परेका छन् भने दियोपोस्टका सुदीप विश्वकर्मा र रिता बुढाथोकी तथा नयाँ पत्रिकाका नवराज मैनालीको खोजी भइरहेको छ।
समाचारकक्षभित्रै पसेर पत्रकार समातिएको घटनाले प्रेस स्वतन्त्रता, पत्रकारको सुरक्षा र सञ्चारमाध्यमले निर्बाध काम गर्न पाउने अधिकारमाथि गम्भीर बहस जन्माएको छ। यही पृष्ठभूमिमा प्रधानमन्त्री कार्यालयबाट आएको यो स्पष्टीकरणलाई अर्थपूर्ण मानिएको छ।
