नेपाल धितोपत्र बोर्डले पूँजी बजारमा नयाँ किसिमका वित्तीय उपकरण भित्र्याउने तयारी थालेको छ। त्यसका लागि बोर्डले सात सदस्यीय समिति बनाएको हो। समितिको नेतृत्व कार्यवाहक कार्यकारी निर्देशकले गर्नेछन्।
बोर्डका अनुसार समितिमा नेपाल राष्ट्र बैंकका निर्देशकस्तरका प्रतिनिधि, नेपाल स्टक एक्सचेन्जका प्रतिनिधि र मर्चेन्ट बैंकर्स एसोसिएसन अफ नेपालका प्रतिनिधि सहभागी छन्। समितिको पहिलो बैठक शुक्रबार बसेको छ।
समितिले कर्पोरेट ऋणपत्र, सरकारी ऋणपत्र, नगर ऋणपत्र, हरित ऋणपत्र र पूर्वाधार ऋणपत्रजस्ता उपकरणको कारोबार सम्भव बनाउन आवश्यक कानुनी तथा प्राविधिक तयारीको अध्ययन गर्नेछ। त्यसैगरी एक्सचेन्ज ट्रेडेड फन्ड, रियल इस्टेट इन्भेस्टमेन्ट ट्रस्ट, इन्फ्रास्ट्रक्चर इन्भेस्टमेन्ट ट्रस्ट र चरणबद्ध रूपमा डेरिभेटिभ उपकरणको कारोबार सुरु गर्ने विषय पनि समितिको कार्यक्षेत्रमा परेको छ।
बोर्डले सार्वजनिक गरेको पूँजी बजार विकास मार्गचित्र, २०८३ मा पनि यस्तै उपकरणको चरणबद्ध विकास गर्ने लक्ष्य राखिएको छ। नयाँ उपकरणको कारोबार सुरु भएपछि लगानीकर्ताले थप विकल्प पाउनुका साथै बजारको गहिराइ र विविधता बढ्ने बोर्डको विश्वास छ।
