धनुषा र सिरहालाई जोड्ने हुलाकी सडकको कमला पुल पन्ध्र वर्षदेखि निर्माण सम्पन्न हुन सकेको छैन। नेताहरूले पटकपटक चाँडै सञ्चालनमा आउने आश्वासन दिए पनि पुल अझै प्रयोगमा आएको छैन। स्थानीय बासिन्दा दैनिक डुंगाबाट नदी वारपार गर्न बाध्य छन्।
गत २ असोजमा भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले सामाजिक सञ्जालमार्फत पुल निर्माण अन्तिम चरणमा पुगेको र दुई महिनाभित्र सञ्चालनमा ल्याउने जानकारी दिएका थिए। प्रधानमन्त्री बालेन शाहले समेत उक्त जानकारी सेयर गरेका थिए। त्यो दाबीअनुसार कात्तिक मसान्तभित्र पुल सञ्चालनमा आइसक्नुपर्ने थियो। तर निर्माणस्थलको अवस्था फरक रहेको स्थानीयको भनाइ छ।
गत जेठ २३ गते मन्त्री लम्सालले र गत असोज ६ गते रास्वपाका मधेश प्रदेश सभापति तथा प्रतिनिधिसभा सदस्य तपेश्वर यादवले पुलको निरीक्षण गर्दै केही महिनाभित्र सञ्चालनमा आउने बताएका थिए। स्थानीय घुरन गोइत र नथुनी यादवजस्ता बासिन्दा नेताहरूको आश्वासनमा अब विश्वास नलाग्ने बताउँछन्। पुल नहुँदा सप्तरी र सिरहाका बासिन्दा जनकपुरधाम पुग्न तेब्बरभन्दा बढी दूरी यात्रा गर्नुपरेको छ।
हुलाकी सडक निर्देशनालय जनकपुरका निर्देशक कृष्णकुमार महतोका अनुसार दश नम्बर पिलर उठाउने र सबस्ट्रक्चरको ढलान सकिएको छ। सुपरस्ट्रक्चरका तीन स्ल्याबमाथिको ढलान मात्र बाँकी रहेको उनले बताए। उनका अनुसार कात्तिक २० सम्म ढलान सकिएपछि दुवैतर्फ माटो पुरेर मंसिरभित्र पुल सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।
२०६८ सालमा पप्पु कन्स्ट्रक्सनले ठेक्का पाएको पुलको काम पूरा भएन। २०७८ असार १३ गते लुम्बिनी बिल्डर्सलाई ४७० मिटर लामो पुलको ठेक्का दिइयो, तर चार दिनपछि आएको बाढीले पुल भासियो। चालु आर्थिक वर्षमा पुल र नदी नियन्त्रणका लागि २५ करोड रुपैयाँ बजेट सुनिश्चित गरिएको छ।
