झापा जिल्लामा राष्ट्रिय परिचयपत्र लिने नागरिकको सङ्ख्या चार लाख ५१ हजार ७०४ पुगेको छ। जिल्ला प्रशासन कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनाको कामको विवरण सार्वजनिक गर्दै यो जानकारी दिएको हो।
जिल्लामा हालसम्म आठ लाख ६४ हजार ८१६ जनाको विवरण दर्ता भइसकेको छ। तीमध्ये पाँच लाख ५३ हजार ५४८ जनाको कार्ड केन्द्रबाट जिल्लामा आइपुगेको सहायक प्रमुख जिल्ला अधिकारी सहदेव रायमाझीले बताए। आइपुगेका कार्डमध्ये एक लाख एक हजार ८४४ वटा वितरणका लागि तयार अवस्थामा राखिएका छन्।
रायमाझीका अनुसार मृत्यु भइसकेका, वैदेशिक रोजगारीमा रहेका र कामका कारण जिल्ला बाहिर रहेका व्यक्तिका कार्ड वितरण हुन सकेका छैनन्। कार्ड लिन सम्बन्धित व्यक्ति आफैँ उपस्थित हुनुपर्ने व्यवस्था रहेकाले यस्तो अवस्था आएको उनको भनाइ छ। भद्रपुरस्थित जिल्ला प्रशासन कार्यालयसँगै गौरीगञ्ज र दमकका इलाका प्रशासन कार्यालयबाट पनि विवरण दर्ता र कार्ड वितरण भइरहेको छ।
साउन, भदौ र असोजमा जिल्ला प्रशासन कार्यालयबाट २४ हजार ६४६ जनाको परिचयपत्र विवरण सङ्कलन भएको छ। सोही अवधिमा तीन हजार ७७८ जनालाई नागरिकता, चार हजार ४४८ जनालाई नागरिकताको प्रतिलिपि, तीन हजार १३९ जनालाई राहदानी दिइएको छ भने पाँच हजार ७३६ जनालाई राहदानी सिफारिस गरिएको छ। नागरिकता वितरणमा वंशजतर्फ तीन हजार ५३५, वैवाहिक अङ्गीकृततर्फ १८०, अङ्गीकृततर्फ ४६, गैरआवासीयतर्फ १६ र जन्मसिद्ध आधारमा एक जना रहेका छन्।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सेवालाई छिटो र सहज बनाउन फेसलेस सेवा र शून्य बाँकी आवेदन अभियान चलाइएको बताए। लामो समयदेखि प्रतीक्षामा रहेका पुराना आवेदन बिहानैदेखि र बिदाका दिन समेत सेवा दिएर सकिएको र अहिले आवेदन दिएकै दिन बायोमेट्रिक गर्न सकिने व्यवस्था रहेको उनले जानकारी दिए।
