दक्षिण भारतीय अभिनेता प्रभासको नयाँ फिल्म ‘फौजी’ को टिजरलाई लिएर भारतमा विवाद चुलिएको छ। इतिहासका एक प्रमुख व्यक्तित्वलाई हलुका रूपमा देखाइएको भन्दै नेताजी सुभाष चन्द्र बोसका नाति चन्द्र कुमार बोसले टिजर हटाउन माग गरेका छन्।
चन्द्र कुमार बोस सामाजिक–राजनीतिक अभियन्ता हुन् र पश्चिम बंगालका पूर्व भाजपा उपाध्यक्ष पनि हुन्। उनले भारतका सूचना तथा प्रसारण मन्त्री अश्विनी वैष्णवलाई पत्र लेखेर टिजर हटाउन र जिम्मेवार व्यक्तिमाथि कडा कारबाही गर्न आग्रह गरेका छन्। उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि सोही विषयमा ध्यानाकर्षण गराएका छन् र निर्देशक हानु राघवपुडीलाई मामिलाको गम्भीरता बुझ्न भनेका छन्।
विवादको केन्द्रमा रहेको दृश्यमा सुभाष चन्द्र बोसले एडोल्फ हिटलरसँग कुराकानी गर्दै ‘फौजी’ नामका काल्पनिक पात्रको परिचय गराएको देखाइएको छ। टिजरमा हिटलरले भारतीयहरू शासित हुन अभ्यस्त रहेको टिप्पणी गर्छन् भने बोसले जापानलाई सहयोग गर्ने एक भारतीय गुप्तचरको प्रसंग उठाएर प्रतिवाद गर्छन्। ती गुप्तचरले भगवद्गीताबाट प्रेरित गोप्य कोड बनाएको र उनी कलकत्तामा रहेको कुरा बोसले खुलाउँछन्।
उक्त टिजर गत अक्टोबर २३ मा सार्वजनिक भएको थियो। सोही दिन नेताजीका सहयोगी भगवती चरण पाणिग्राहीको ८३ औँ बलिदान दिवस परेको र प्रभासको ४७ औँ जन्मदिन पनि परेको थियो। टिजरमा सन् १९४२ को बर्लिनको पृष्ठभूमि देखाइएको छ।
फिल्म मैत्री मुभी मेकर्सले निर्माण गरेको हो र टि-सिरिज फिल्म्सले प्रस्तुत गरेको छ। यो फिल्म सन् २०२७ मार्च १९ मा सिनेमाघरमा आउने तय छ। विवादबारे निर्माण पक्षले अहिलेसम्म कुनै आधिकारिक धारणा सार्वजनिक गरेको छैन।
