काठमाडौं । भोटेकोशी बाढीका बेला पूर्वतयारीमा भएको कमजोरीका कारण ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरूले सबैभन्दा बढी क्षति भोग्नुपरेको अधिकारकर्मीहरूले बताएका छन्। ललितपुरमा आयोजित विपद्पछिको राष्ट्रिय संवाद कार्यक्रम ‘राइजिङ फ्रम द रोअर’ मा सहभागीहरूले विपद्को तयारी स्थानीय तहसम्म पुग्न नसक्दा कमजोर वर्गका नागरिकको जीवनरक्षा गर्न नसकिएको बताए।
अपांगता अधिकारकर्मी रमेश पोखरेलका अनुसार अपांगता भएका व्यक्तिलाई विपद्को पूर्वतयारीमा स्थानीय तहसम्मै जोड्न नसक्दा धेरैले ज्यान गुमाए। राष्ट्रिय अपांग महासंघ नेपालका अनुसार उक्त विपद्मा परी अपांगता भएका १३ जनाको मृत्यु भएको छ भने १८ जना अझै बेपत्ता छन्। युनिसेफका अनुसार चार जिल्लाका एक हजार आठ सय ५४ जना अपांगता भएका व्यक्ति विपद्बाट प्रभावित भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले विपद् व्यवस्थापनमा स्थानीय तहको भूमिका निर्णायक हुने बताए। उनका अनुसार वडा तहसम्मै सक्रिय र सक्षम समिति बनाउनु जरुरी छ। भोटेकोशी–त्रिशूली क्षेत्रमा सडक सम्पर्क विच्छेद भएका कारण हेलिकोप्टरमार्फत राहत तथा उद्धार गर्नुपरेको र उक्त विपद्का क्रममा १३ हजार ५०० भन्दा बढी मानिसको उद्धार गरिएको उनले जानकारी दिए।
महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी उपसचिव निरा अधिकारीले पूर्वतयारीका क्रममा सूचना सम्प्रेषणमा समस्या देखिएको स्वीकार गर्दै राहतमा ज्येष्ठ नागरिक, महिला, बालबालिका र अपांगता भएकाको आवश्यकता पहिचान गरिएको बताइन्। नुवाकोटका रामहरि न्यौपानेले भने दीर्घकालीन रोगका औषधी र मनोसामाजिक परामर्श पर्याप्त नभएको गुनासो गरे। स्वास्थ्य मन्त्रालयले भने औषधी पठाउने काम र परामर्श सेवा जारी रहेको जनाएको छ।
