रौतहटको मौलापुर नगरपालिका–२ मर्यादपुरमा आइतबार बिहान भएको मोटरसाइकल दुर्घटनामा एक वृद्धाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बिहान करिब १ बजे मौलापुरबाट शीतलपुरतर्फ गइरहेको बा ३७ प ९९७७ नम्बरको मोटरसाइकल मौलापुर–शीतलपुर सडकखण्डमा अनियन्त्रित भएर दुर्घटना भएको रौतहट प्रहरीले जनाएको छ।
मोटरसाइकलमा सवार तीनै जना घाइते भएका थिए। चालक फतुवा विजयपुर नगरपालिका–२ शीतलपुरका ५३ वर्षीय त्रिविक्रम ठाकुर, उनकी करिब ७० वर्षीया आमा सोमरिया देवी ठाकुर र करिब २८ वर्षीया बुहारी सीमा कुमारी ठाकुरलाई उपचारका लागि बाराको कलैयास्थित राजलक्ष्मी प्रा.लि. अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा बिहान करिब ५ बजे सोमरिया देवीको निधन भएको प्रहरीले जानकारी दिएको छ।
दुर्घटनामा घाइते भएका त्रिविक्रम र सीमा कुमारीको उपचार जारी छ। प्रारम्भिक विवरणमा मोटरसाइकल अनियन्त्रित हुनुलाई दुर्घटनाको कारण उल्लेख गरिएको छ। मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा पठाइएको छ। इलाका प्रहरी कार्यालय मौलापुरले घटनाको पुष्टि गर्दै थप अनुसन्धान भइरहेको जनाएको छ।
