काठमाडौँ – यसपालिको दशैँमा पर्वका भक्तहरूले दुई दिनसम्म अष्टमी मनाउनुपर्ने भएको छ। तिथिमा वृद्धि हुँदा नवरात्रको नवौँ दिन पनि महाअष्टमीकै कर्म दोहोर्याउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्पष्ट पारेको छ।
समितिले स्वीकृत गरेको पात्रोअनुसार कात्तिक १ र २ गते दुवै दिन अष्टमी परेको छ। यसैकारण कात्तिक १ गते गरिएको महाअष्टमीको पूजा–आराधना कात्तिक २ गते पनि दशैँ घर वा पूजा कोठामा दोहोर्याउनुपर्छ। नवौँ दिन भए पनि त्यस दिनको कर्म नवमीको होइन, आठौँ दिनको हुनेछ र नवदुर्गामध्ये आठौँ देवी महागौरीकै पूजा गरिनेछ।
अष्टमीकै राति गरिने कालरात्रि पूजा भने कात्तिक १ गते राति नै गर्नुपर्ने पात्रोमा उल्लेख छ। दुई दिन अष्टमी परेपछि यस वर्षको नवरात्र दश दिनको भएको छ — विजयादशमीमा टीका लगाउँदा १० रात्रिकै जमरा लगाइनेछ।
समितिका पूर्वसदस्य एवं धर्मशास्त्रका प्राध्यापक डा. देवमणि भट्टराईका अनुसार देवीको आराधनाका लागि एक दिन थप हुँदा त्यसले कुनै नकारात्मक असर पार्दैन।
उता राज्यका तर्फबाट हनुमानढोका दरबारमा गरिने कालरात्रि पूजा परम्पराअनुसार तलेजुका पुजारीसँगको परामर्शमा कात्तिक २ गते सोमबार राति गरिने भएको छ। दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख जयन्ती श्रेष्ठ प्रधानका अनुसार महाअष्टमीको कर्मपछि भोलिपल्ट नै महानवमीको पूजा गर्ने परम्परा भएकाले यस्तो निर्णय लिइएको हो। हनुमानढोकामा महाअष्टमीको राति १०८ पशु बलिसहित पूजा गर्ने परम्परा रही आएको छ।
