दाङ — पश्चिम राप्ती नदीको किनारमा अहिलेसम्म ४८ किलोमिटर लामो तटबन्ध निर्माण सम्पन्न भएको छ। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना लमही, दाङले गरेको यस कामबाट एक हजार चार सय ४० हेक्टर खेतीयोग्य जमिन उकास हुनुका साथै संरक्षण भएको छ।
आयोजनाका सूचना अधिकारी खुमानन्द वलीका अनुसार दाङ र प्युठानको दोभानदेखि बाँकेको भारतीय सिमानासम्म फैलिएको पश्चिम राप्ती नदीको कुल लम्बाइ एक सय ५७ दशमलव ६ किलोमिटर छ। त्यसैमध्ये हालसम्म ४८ किलोमिटर खण्डमा तटबन्ध बनिसकेको हो।
गएको आर्थिक वर्षमा मात्र पश्चिम राप्तीमा पाँच दशमलव ६१ किलोमिटर तटबन्ध थपिँदा एक सय ६८ हेक्टर जमिन उकास भएको छ। गढवा–६ को जेठानगाउँमा ४३ लाख २३ हजार पाँच सय ५५ रुपैयाँ र गढवा–३ को उल्टिसोटा खोलामा १२ लाख ८८ हजार दुई सय ८७ रुपैयाँ बराबरको आपत्कालीन नदी नियन्त्रण कार्य सम्पन्न भइसकेको छ। प्रगन्ना सिँचाइअन्तर्गत नदीको दायाँ किनारका विभिन्न खण्ड र रनियापुर–छिङ्गतपुर क्षेत्रमा पनि करोडौँ रुपैयाँका तटबन्ध ठेक्काहरू पूरा भएका छन्।
हाल दाङ र बाँके खण्डमा एक अर्ब २२ करोड १० लाख ५१ हजार रुपैयाँ बराबरका ठेक्का सम्पन्न भइसकेका छन्। लमही–५ सोनारपुर खण्डमा १० करोड ११ लाख ६६ हजार नौ सय ६४ रुपैयाँको ठेक्कामा ७० प्रतिशत भौतिक प्रगति भएको छ भने गढवा–१ अडेहरीदेखि जेठानगाउँ खण्डमा पाँच करोड ३२ लाख ३८ हजार रुपैयाँको ठेक्कामा ४८ दशमलव ७० प्रतिशत प्रगति पुगेको छ।
त्यसैगरी बाँकेको राप्ती सोनारी–७ खुल्ला झगडियामा चार करोड १५ लाख २५ हजार रुपैयाँको ठेक्कामा ७० प्रतिशत र राप्ती सोनारी–६ ढलैयामा ८२ लाख ४२ हजार ९२ रुपैयाँको ठेक्कामा ७५ प्रतिशत भौतिक प्रगति हासिल भएको छ।
नदीको बाढीबाट खेतीयोग्य जमिन र मानव बस्ती जोगाउन मुख्य इन्टेक भालुवाङदेखि सक्लाहीसम्म १५ दशमलव ९९६ किलोमिटर तटबन्ध निर्माण कार्य सम्पन्न भइसकेको छ। आगामी दिनमा कुल २३ किलोमिटर तटबन्ध खण्ड सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
