लन्डन — बेलायतको राजधानी लन्डनमा आइतबार युद्धमा ज्यान गुमाएका सैनिकहरूको सम्झनामा विशेष समारोह आयोजना गरिएको छ। ह्वाइटहलस्थित सेनोताफ युद्ध स्मारकमा भएको ‘रिमेम्बरेन्स सन्डे’ कार्यक्रममा बेलायती राजा चाल्र्स तृतीयको नेतृत्वमा दुई मिनेट मौनधारण गरिएको थियो।
समारोहमा नेपालका तर्फबाट कार्यवाहक राजदूत विपिन दुवाडीले पुष्पहार चढाए। राष्ट्रिय स्मृति सभामा सहभागी हुन पाउनु र वीर गोर्खा सैनिकसहित देशका लागि प्राण आहुति दिने सपूतहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न पाउनु आफ्ना लागि सम्मानको विषय भएको उनले बताए।
समारोह सुरु हुनुअघि दुवाडीले प्रधानमन्त्री एण्डी बर्नहाम र विदेशमन्त्री इड मिलिब्याण्डसँग छोटो कुराकानी गरेका थिए। उक्त भेटमा उनीहरूले नेपालले पछिल्लो पटक भोगेको प्राकृतिक विपत्तिप्रति दुःख र चासो व्यक्त गरेका थिए।
स्मृति सभापछि रोयल ब्रिटिश लिजनले आयोजना गरेको परेडमा गोर्खा पूर्वसैनिकसहित झण्डै १० हजार पूर्वसैनिक सहभागी भए। परेडमा दोस्रो विश्वयुद्धका १२ पूर्वसैनिक पनि उपस्थित थिए, जसमा १०३ वर्षीया एनी डुपलक पनि थिइन्।
यस वर्षको समारोहमा ९ जना पूर्वप्रधानमन्त्री एकसाथ उपस्थित भएका थिए। तीमध्ये सबैभन्दा ज्येष्ठ ८३ वर्षीय जोन मेजर र सबैभन्दा पछिल्ला पूर्वप्रधानमन्त्री किअर स्टार्मरसहित लिज ट्रस, डेभिड क्यामरुन, गोर्डन ब्राउन, टोनी ब्लेयर, टेरेजा मे, ऋषि सुनक र बोरिस जोन्सन सहभागी थिए। रानी क्यामिलासहित राजपरिवारका वरिष्ठ सदस्य र सेनाका प्रमुखहरू पनि कार्यक्रममा उपस्थित थिए।
यसैबीच, गत नोभेम्बर ४ मा वेष्टमिन्स्टरस्थित रक्षा मन्त्रालय अगाडि गोर्खा सैनिकको सालिक परिसरमा पनि छुट्टै स्मृति सभा भएको थियो। अल–पार्टी पार्लियामेन्ट्री ग्रुपले आयोजना गरेको उक्त सभामा सांसद मनिष झा, कार्यवाहक राजदूत दुवाडीसहित हाउस अफ कमन्स र लर्डसका १७ सांसद सहभागी भएका थिए।
