जनकपुरधाम — तराई–मधेसको महत्वपूर्ण सडक मानिने हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको पुल आगामी मङ्सिरदेखि सञ्चालनमा ल्याउने तयारी भएको छ। पुल निर्माण अन्तिम चरणमा पुगेसँगै सडकको सीमा क्षेत्र खाली गर्ने काम पनि अघि बढाइएको छ।
हुलाकी राजमार्ग निर्देशनालयको योजना कार्यालयले जनकपुरधामको कदमचोकदेखि कमला पुलसम्मको खण्डमा सडक सीमाभित्र बनेका अनधिकृत घर, टहरा र घुम्ती पसल हटाउन थालेको हो। पटकपटक सूचना दिँदा पनि संरचना नहटाइएपछि हटाउने प्रक्रिया सुरु गरिएको कार्यालय प्रमुख कृष्णकुमार महतोले बताएका छन्।
यो खण्डको धेरैजसो भाग कालोपत्र भइसकेको छ। पुल सञ्चालनमा आएपछि सवारी चाप बढ्ने भएकाले सीमा क्षेत्र खाली गर्नु आवश्यक भएको कार्यालयको भनाइ छ। पुलको १० नम्बर पिलर बनिसकेको छ भने सुपर स्ट्रक्चरको ढलान अन्तिम चरणमा छ। दुवैतर्फ जोडिने सडकमा माटो भर्ने काम सकिएपछि मङ्सिरदेखि सवारी चलाउने लक्ष्य राखिएको छ।
कमला पुलको कथा लामो छ। विसं २०६८ मा पप्पु–लुम्बिनी जेभीले निर्माण ठेक्का पाएको थियो। विसं २०७८ असारमा उद्घाटनको तयारी भइरहेका बेला बाढीले पिलर भाँचिएपछि काम रोकिएको थियो। त्यसपछि लामो समय स्थानीयवासीले नदी वारपार गर्न डुङ्गाकै भर पर्नुपरेको थियो।
सिरहादेखि सर्लाहीसम्मको ४०६ दशमलव ४३ किलोमिटरमध्ये हालसम्म ३४७ दशमलव ६३ किलोमिटर सडक कालोपत्र भइसकेको छ भने २४ वटा पुलको निर्माण सम्पन्न भएको छ। आर्थिक वर्ष २०८२/८३ भित्रै हुलाकी सडक सम्पन्न गर्ने लक्ष्य रहे पनि सीमा क्षेत्रको घरटहरा हटाउन भएको ढिलाइ र जग्गा विवादले केही काम प्रभावित भएको कार्यालयले बताएको छ। सडक विस्तारले गाउँ र बजारबीचको दूरी घटाएको र जग्गाको मूल्य बढेको स्थानीयवासीले बताएका छन्।
