अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापारिक मतभेद छिट्टै टुंगिने विश्वास व्यक्त गरेका छन्। मध्यावधि निर्वाचन नजिकिँदै गर्दा आइतबार मिशिगनको पोर्ट ह्युरोनमा आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले दुई देशबीच चाँडै व्यापार सम्झौता हुने बताएका हुन्।
गत अगस्टमा दुई देशबीचको व्यापार वार्ता भाँडिएपछि सम्बन्धमा तनाव बढेको थियो। त्यसपछि ट्रम्पले क्यानाडाबाट आयात हुने विभिन्न वस्तुमा थप भन्सार महसुल लगाए। सभामा उनले आफ्नो अडानको बचाउ गर्दै क्यानाडाले वर्षौंदेखि अमेरिकाबाट अनुचित लाभ लिइरहेको आरोप लगाए। समस्या छिट्टै समाधान हुने र क्यानाडा अहिले जस्तोसुकै सहमति गर्न तयार रहेको उनको भनाइ थियो।
वार्ता असफल भएपछि लगाइएको करले हक्कीका सामग्रीदेखि सिमेन्टसम्म करिब २० अर्ब अमेरिकी डलर बराबरका सामानलाई असर पारेको थियो। यसको जवाफमा क्यानाडाले पनि अमेरिकी उत्पादनका त्यति नै मूल्यका वस्तुमा कर लगाएको थियो। त्यसपछि ट्रम्पले केही वस्तुमा ५० प्रतिशतसम्म कर बढाएर प्रतिकार गरेका थिए।
व्यापार विवादबाट प्रभावित सीमावर्ती राज्य मेनकी सिनेटर सुसान कोलिन्सको आग्रहपछि ह्वाइट हाउसले शुक्रबार तीमध्ये केही वस्तुमाथिको कर हटाएको थियो। आगामी मध्यावधि निर्वाचनमा सिनेटको नियन्त्रणका लागि डेमोक्रेटहरूले कोलिन्सको सिटलाई विशेष लक्ष्य बनाएका छन्।
ट्रम्पले आफ्नो दोस्रो कार्यकालको सुरुदेखि नै मित्रराष्ट्र र प्रतिस्पर्धी देशमाथि व्यापक कर लगाउँदै आएका छन्। अन्य देशले अमेरिकाको आर्थिक फाइदा उठाएको आरोप लगाउँदै उनले विश्वव्यापी व्यापार व्यवस्थामा परिवर्तन ल्याउन खोजेका छन्। कतिपय करलाई उनले राजनीतिक तथा विदेश नीतिसम्बन्धी उद्देश्यसँग पनि जोड्दै आएका छन्।
