काठमाडौं । वरिष्ठ पत्रकार तथा नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष शिव गाउँलेले समाचारको स्रोत खोज्ने नाममा समाचार कक्षमै प्रहरी पस्नु संविधानमाथिको गम्भीर प्रहार भएको बताएका छन्। शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले यस्तो गतिविधिले मुलुकमा संविधान नै समाप्त भएको सन्देश दिने टिप्पणी गरे।
गाउँलेका अनुसार अहिले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि मात्र नभई संविधान जोगाउनकै लागि लड्नुपर्ने अवस्था आएको छ। समाचार कक्षमा छिरेर पत्रकारलाई नियन्त्रणमा लिनु सामान्य प्रशासनिक कदम नभई लोकतान्त्रिक मूल्यमाथिको आक्रमण भएको उनको भनाइ छ।
पछिल्लो समय विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमा प्रहरी प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिएको तथा पक्राउ गर्ने प्रयास गरेको घटनापछि गाउँलेको यो धारणा आएको हो। स्रोतको गोपनीयता पत्रकारिताको आधारभूत सिद्धान्त भएकाले त्यसलाई जोगाउनु राज्यको दायित्व भएको उनले बताए।
प्रेस स्वतन्त्रता कमजोर हुँदा नागरिकको सूचनाको अधिकारसमेत खुम्चिने भन्दै गाउँलेले संविधानले प्रत्याभूत गरेका अधिकारको सम्मान गर्न सबै पक्षलाई आग्रह गरेका छन्।
