काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सञ्चारगृहमाथिको हस्तक्षेप र निगरानी तत्काल बन्द गर्न सरकारसँग आग्रह गरेका छन् । पत्रकारहरूमाथि धमाधम धरपकड भएपछि शुक्रबार सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले यस्तो माग गरेका हुन् ।
समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै आधारमा प्रहरी परिचालन गरेर पत्रकार गिरफ्तार गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा भएको उनको भनाइ छ । सार्वजनिक पद धारण गरेका व्यक्तिका गतिविधि, न्यायिक शुद्धता र शक्ति दुरुपयोगका विषयमा खोजी गरेर नागरिकलाई सुसूचित गराउनु प्रेसको संवैधानिक कर्तव्य भएको उनले उल्लेख गरेका छन् ।
कुनै समाचार सामग्रीप्रति आपत्ति वा असहमति भए त्यसको परीक्षण र निरूपण गर्ने स्थापित कानुनी बाटाहरू खुला रहेको उनले बताए । पक्राउ परेका पत्रकारहरूलाई अविलम्ब ससम्मान रिहा गर्न, सञ्चारगृहमाथिको अनावश्यक हस्तक्षेप र निगरानी तुरुन्त बन्द गर्न तथा कानुनी प्रक्रियामार्फत सत्यतथ्य छानबिन गर्न उनले माग गरे ।
प्रश्न सोधेकै भरमा कलम चलाउने हातमा हतकडी लगाउने दुस्साहसले सरकार स्वयंलाई निरंकुशताको कठघरामा उभ्याउने उल्लेख गर्दै उनले आफ्ना स्वेच्छाचारी र गैरकानुनी कदम तत्काल सच्याउन सरकारलाई सचेत गराए । संवैधानिक र कानुनी प्रक्रियालाई लत्याउँदै राज्यशक्तिको दुरुपयोग गरेर पत्रकारहरूलाई हतोत्साहित पार्ने प्रयास विधिको शासनविपरीत रहेको उनको भनाइ छ ।
हिजोका दिनमा पनि गाडी तेर्स्याएर आतंकित बनाउने प्रयास भएको र सोही अराजक प्रवृत्ति आज राज्यसंयन्त्रबाटै दोहोरिनु झनै लज्जास्पद र अस्वीकार्य भएको उनले बताए । आफ्ना कमजोरी छोप्न मिडिया तर्साउने प्रयास तत्काल रोक्न उनले माग गरे ।
