काठमाडौं । प्रहरी नियन्त्रणमा रहेका पत्रकारहरूलाई तत्काल रिहा गर्न माग गरिएको छ । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेशले विज्ञप्ति निकालेर पत्रकार विश्वमणि सुवेदी र शोभराज बराललाई नियन्त्रणमा लिएको घटनाप्रति भर्त्सना गर्दै तत्काल रिहा गर्न माग गरेको हो ।
प्रतिष्ठान प्रदेशका अध्यक्ष रमेश वाग्लेले विज्ञप्तिमार्फत गलत कदमप्रति सार्वजनिक रूपमा माफी माग्न सरकार र सरोकारवाला निकायसँग माग गरेका छन् । मिडियाका कार्यालयमा प्रवेश गरेर प्रहरीले सुवेदी र बराललाई समाचारकक्षबाटै नियन्त्रण गरेको घटनाप्रति भर्त्सना गर्दै यस्तो माग गरिएको हो ।
बिना अनुमति मिडियाको कार्यालय प्रवेश गर्नु आपत्तिजनक रहेको विज्ञप्तिमा उल्लेख छ । नियन्त्रण पुर्जीबिनै अनधिकृत रूपमा नियन्त्रणमा लिएका पत्रकारलाई तत्काल रिहा गर्न र गलत कदमप्रति सार्वजनिक माफी माग्न महासंघ प्रदेश समितिले सरकार र सरोकारवाला निकायसँग जोडदार माग गरेको छ ।
संविधानले नै ग्यारेन्टि गरेको पूर्ण प्रेस स्वतन्त्रतालाई बेवास्ता गर्दै समाचारमा आएका विषयलाई लिएर नियन्त्रण पुर्जीसम्म नदिई नियन्त्रण गर्नु र बिना अनुमति मिडियाका कार्यालयमा प्रवेश गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको महासंघको भनाइ छ ।
लोकतान्त्रिक प्रक्रियाबाट बनेको सरकारबाट शाही शासनको झल्को दिने कदमको नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले घोर भर्त्सना गरेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरोधी कदम अस्वीकार्य रहेको र यस्ता कदम जारी रहे जुनसुकै स्तरका कडा कदम चाल्न बाध्य हुने चेतावनी दिइएको छ । प्रेस स्वतन्त्रताविरोधी कदमविरुद्ध एकजुट हुन प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ, पत्रकारसम्बद्ध संस्थाहरू र सम्पूर्ण पेसागत संस्थाहरूलाई हार्दिक अपिल गरिएको छ ।
