सङ्खुवासभा, २ कात्तिक — सङ्खुवासभाको भोटखोला गाउँपालिका–२ छुमसुरमा अड्किएको विशाल चट्टानसहितको पहिरो विस्फोटक पदार्थ प्रयोग गरेर हटाइएको छ । आइतबार नेपाली सेनाले विस्फोट गराएपछि चीनसँगको सीमा नाका किमाथाङ्कासम्म पुग्ने सडकमा एकतर्फी यातायात सञ्चालनमा आएको छ ।
चट्टान असाध्यै ठूलो भएकाले सामान्य मेसिनले हटाउन नसकेपछि उत्तर–दक्षिण कोशी सडक योजनाले सेनालाई सहयोग मागेको थियो । योजना प्रमुख रामबहादुर गुरुङका अनुसार सेना र सडक कार्यालयको प्राविधिक टोलीले सँगै काम गरेर पहिरो पन्छाएपछि अवरुद्ध सडक खुलेको हो ।
सडक खुलेसँगै चाडपर्वका लागि घर फर्कने यात्रु, स्थानीय बासिन्दा र सामान बोकेका सवारीलाई आवागमन सहज भएको छ । साउनमा भारी वर्षासँगै खसेको पहिरोले सडक बन्द भएपछि उत्तरी क्षेत्रको दैनिक आवागमन र खाद्यान्नजस्ता अत्यावश्यक वस्तुको ढुवानी प्रभावित भएको थियो । विस्फोटक प्रयोग गर्नुपर्ने भएकाले सडक खुलाउन समय लागेको आयोजनाको भनाइ छ ।
खाँदबारी–किमाथाङ्का सडकको कुल लम्बाइ १६२ किलोमिटर छ, जसमध्ये १०.८ किलोमिटर खण्ड नेपाली सेनाले बनाएको हो । विकट भूगोल र कडा चट्टानका कारण हेलिकप्टरबाटै निर्माण सामग्री ढुवानी गरेर सेनाले उक्त खण्ड गत वैशाखमा हस्तान्तरण गरेको थियो । आयोजनाअनुसार सडकमा हालसम्म ६२ करोड ३६ लाख ६७ हजार रुपैयाँ खर्च भइसकेको छ ।
किमाथाङ्का–जोगबनी खण्डलाई चीन र भारत जोड्ने छोटो मार्गका रूपमा हेरिएको छ । सडक पूर्ण सञ्चालनमा आएपछि सङ्खुवासभा, धनकुटा, तेह्रथुम, सुनसरी, मोरङ, झापा र भोजपुरका बासिन्दालाई लाभ पुग्ने र सीमावर्ती व्यापार फस्टाउने अपेक्षा गरिएको छ ।
