काठमाडौं । माइतीघर मण्डलामा दुई सय दिनदेखि सत्याग्रह धर्नामा बसेकी दीपा नेपालीको मागमा ऐक्यबद्धता जनाउन पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई बुधबार दिउँसो माइतीघर मण्डल पुगेका छन् ।
भट्टराईले माइतीघरमा पुगेर कथित वर्ण व्यवस्थाको नाममा गरिने जात र छुवाछुतजन्य विभेद २१ औं शताब्दीको सबैभन्दा ठूलो मानवीय कलंक भएको बताए ।
उनले आफू निरन्तर बोल्दै आएको उल्लेख गर्दै १० वर्षे जनयुद्धमा पनि यसैलाई प्रमुख मुद्दाका रूपमा स्थापित गरिएको र संविधान निर्माणमा पनि प्रस्ट लेखिएको बताए । दलितका हक र जातीय विभेदविरुद्ध प्रस्ट नीति नियम बनाइएको उनको भनाइ थियो ।
सिद्धान्तमा कानुन निर्माण भएकै दिन जातीय विभेद अन्त्य भए पनि त्यसलाई कार्यान्वयन गर्न आवश्यक कानुनहरू भने अहिलेसम्म नबनेको उनले बताए । धर्म र संस्कृतिका कारण जातीय विभेद भइरहँदा त्यसलाई सुधार्दै लैजान सकिने समेत उनले बताएका छन् ।
भट्टराईसँगै पत्रकार ऋषि धमला लगायत अन्य व्यक्तिहरूले पनि नेपालीको मागमा ऐक्यबद्धता जनाउन माइतीघर पुगेका छन् । ‘सरकार कोठा खाली छ ?’ अभियानसँग जोडिएको यो धर्ना लामो समयदेखि जारी छ, र ऐक्यबद्धता जनाउने क्रममा भट्टराईले जातीय विभेद अन्त्यका लागि कानुन कार्यान्वयनमा जोड दिए ।
