ढाका । बङ्गलादेश र चीनबीच लगानी तथा आर्थिक सहकार्य विस्तार गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ । बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानको उपस्थितिमा बिहीबार बागेरहाट जिल्लाको मोङ्गलामा उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
समझदारी बङ्गलादेशको लगानी प्रवर्द्धन संस्था इन्भेस्ट बङ्गलादेश र चीनको चाइना रेलवे कन्स्ट्रक्सन कर्पोरेसन (सीआरसीसी) बीच भएको हो । इन्भेस्ट बङ्गलादेशका औद्योगिक क्षेत्र विभागका सदस्य सालेह अहमद र चिनियाँ पक्षबाट चाइना सिभिल इन्जिनियरिङ कन्स्ट्रक्सन कर्पोरेसनका अध्यक्ष ली चोङयाङले समझदारीपत्रमा हस्ताक्षर गरे । कार्यक्रममा इन्भेस्ट बङ्गलादेशका अध्यक्ष अशिक चौधरी र सीआरसीसीका अध्यक्ष दाइ हेगेन पनि उपस्थित थिए ।
समझदारीअनुसार बङ्गलादेशमा पूर्वाधार, यातायात, रसद व्यवस्थापन, उद्योग, ऊर्जा, वातावरण संरक्षण र सीप विकासलगायत क्षेत्रमा लगानीका अवसर विस्तार गरिनेछ । यसले दुई देशबीचको आर्थिक सम्बन्ध थप बलियो बनाउनुका साथै बङ्गलादेशमा चिनियाँ लगानी आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
हस्ताक्षरपछि प्रधानमन्त्री रहमानले चिनियाँ प्रतिनिधिमण्डलसँग छलफल गर्दै बङ्गलादेशमा थप लगानी गर्न चिनियाँ कम्पनीहरूलाई आग्रह गरे । उनले मोङ्गलामा थप औद्योगिक कारखाना स्थापना गर्ने सरकारको योजना रहेको जानकारी दिँदै बन्दरगाहदेखि देशको उत्तरी क्षेत्रसम्म आर्थिक गतिविधि विस्तार गर्न विद्युत् र ग्यास आपूर्तिको व्यवस्था मिलाइने बताए । आवश्यक पूर्वाधार निर्माणलाई तीव्रता दिने उनको भनाइ थियो ।
बङ्गलादेशको आर्थिक विकासमा योगदान पुर्याउँदै आएका चिनियाँ लगानीकर्ताप्रति आभार व्यक्त गर्दै प्रधानमन्त्री रहमानले मध्यपूर्वमा चिनियाँ कम्पनीमार्फत बङ्गलादेशी कामदारले रोजगारीका अवसर पाएकोमा पनि धन्यवाद दिए । दुई देशबीचको सहकार्यबाट आर्थिक विकासका साझा लक्ष्य हासिल गर्न सकिने उनले विश्वास व्यक्त गरे ।
यसअघि प्रधानमन्त्री रहमान बिहीबार बिहान ९ः५० बजे हेलिकप्टरमार्फत मोङ्गला पुगेका थिए । उनको भ्रमणका क्रममा मोङ्गला बन्दरगाह विस्तार तथा आधुनिकीकरण परियोजनाअन्तर्गत दुईवटा कन्टेनर जेटी तथा सम्बन्धित पूर्वाधार निर्माण कार्यको शिलान्यास गर्ने कार्यक्रमसमेत रहेको थियो ।
