वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१५ भीष्वाडाँडा नजिक सञ्चालन भइरहेको अवैध घरेलु मदिरा उत्पादन गर्ने भट्टी प्रहरीले भत्काएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले छापा मारेर भट्टी नष्ट गर्नुका साथै ठूलो परिमाणमा मदिरा र कच्चा पदार्थ बरामद गरेको हो ।
प्रहरीका अनुसार मिना मोक्तानले सञ्चालन गरेको भट्टीबाट मदिरा बनाउन प्रयोग हुने एक हजार तीन सय लिटर कच्चा पदार्थ र तीन सय ५० लिटर तयारी घरेलु मदिरा नियन्त्रणमा लिइएको छ । अवैध रूपमा मदिरा उत्पादन भइरहेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले भट्टी फुटाएर त्यहाँ रहेका सबै सामग्री प्रहरी कार्यालयमा ल्याएर नष्ट गरेको छ ।
प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले अवैध घरेलु मदिराको उत्पादन, बिक्री वितरण तथा ओसारपसार स्वास्थ्यका हिसाबले जोखिमपूर्ण रहेको बताए । मापदण्डविपरीत विभिन्न रासायनिक पदार्थ प्रयोग गरेर बनाइने मदिराले मानव स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने भएकाले सचेत रहन उनले आग्रह गरे ।
प्रहरीले अवैध मदिरा उत्पादन तथा कारोबारमा संलग्न नहुन सर्वसाधारणलाई अनुरोध गर्दै त्यस्तो गतिविधिबारे जानकारी भए नजिकको प्रहरी कार्यालयमा खबर गर्न आग्रह गरेको छ ।
