काश्मीरमा भालुको आक्रमणमा आमा गुमाएका एक भारतीय सफ्टवेयर इन्जिनियरले हिमाली क्षेत्रका बासिन्दालाई वन्यजन्तुको खतराबाट जोगाउने अनलाइन प्रणाली बनाएका छन् । ३३ वर्षीय मुदासिर अलीले बनाएको निःशुल्क वेबसाइट ‘वाइल्डपिङ’ मार्फत प्रयोगकर्ताले भालु, चितुवा वा अन्य वन्यजन्तु देखिएको ठाउँको जानकारी दिन सक्छन् । त्यो जानकारीका आधारमा जोखिममा रहेका वरपरका मानिसको मोबाइलमा चेतावनी पुग्छ ।
आमाको मृत्यु भएको पहिलो वार्षिकोत्सवका अवसरमा गत अक्टोबरमा सार्वजनिक गरिएको यो प्रणाली अलीले आफ्नो पीडाबाट अरूलाई जोगाउन प्रविधिको सहारा लिन चाहेको बताएका छन् । आधिकारिक तथ्याङ्कअनुसार सन् २०२३ यता काश्मीरमा वन्यजन्तुको आक्रमणमा ज्यान गुमाउने कम्तीमा ५० जनामध्ये उनकी आमा पनि थिइन् ।
वन क्षेत्र साँघुरिँदै गएपछि हिमाली भेगमा मानिस र वन्यजन्तुबीचको द्वन्द्व बढ्दै गएको छ । काश्मीरमा लामो समयदेखि जारी द्वन्द्व, सीमामा लगाइएका बार तथा सैन्य उपस्थितिले वन्यजन्तुको आवतजावतमा समेत अवरोध पुर्याएको छ । विज्ञहरूका अनुसार काश्मीरमा पाइने हिमाली कालो भालु वन्यजन्तुको आक्रमणबाट हुने मृत्यु र घाइतेका ८० प्रतिशतभन्दा बढी घटनामा संलग्न छ । यस क्षेत्रमा खैरो भालु र चितुवा पनि पाइन्छन् ।
वाइल्डपिङमा घर, खेत, विद्यालय र बालबालिका हिँड्ने बाटोलाई निगरानी क्षेत्रका रूपमा तोक्न सकिन्छ । ती क्षेत्रमा वन्यजन्तु देखिएमा प्रयोगकर्ताले मोबाइलमा सूचना पाउँछन् । यसले द्वन्द्व नै रोक्न नसके पनि समयमै सतर्क भएर परिवारलाई सुरक्षित राख्न वा सहयोग माग्न सकिने वेबसाइटमा उल्लेख छ । अङ्ग्रेजी, हिन्दी र उर्दू भाषामा उपलब्ध वेबसाइटले सञ्चालनको एक महिनाभन्दा कम अवधिमै करिब नौ हजार आगन्तुक आकर्षित गरेको छ । सयौँ प्रयोगकर्ता नियमित रूपमा यसमा फर्किने गरेका छन् ।
स्थानीय बासिन्दा यासिर इकबालले भालु देखेपछि तत्कालै वेबसाइटमार्फत जानकारी गराएका थिए । उनका अनुसार गाउँका धेरै मानिसले यसको प्रयोग गर्न थालेका छन् । वन्यजन्तु देखिएको ठाउँबारे समयमै सूचना पाउँदा मानिसको ज्यान जोगाउन सहयोग पुग्ने उनको विश्वास छ ।
