काठमाडौं । सम्पत्ति शुद्धीकरणको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा रहेका इनम सापकोटाको अडियो केही दिनअघि सार्वजनिक भएपछि प्रहरीको अनुसन्धान प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ।
हिरासतमा रहेका व्यक्तिको बयानसम्बन्धी अडियो बाहिरिनुले अनुसन्धानको गोपनीयता र प्रमाणको सुरक्षामा कमजोरी देखिएको टिप्पणी हुन थालेको छ। उच्च तहका व्यक्तिसँग सम्बन्ध रहेको बताइने सापकोटामाथि चलिरहेको संवेदनशील अनुसन्धानको विषय नै बाहिरिएपछि अनुसन्धान गर्ने निकायको जवाफदेहिताबारे समेत प्रश्न उठेको हो।
यस विषयमा अनलाइनखबरले जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेसँग जिज्ञासा राखेको थियो। हिरासतमा रहेका व्यक्तिको अडियो कसरी बाहिरियो र बाहिरिएको अडियो सत्य हो कि होइन भन्ने प्रश्नमा एसएसपी घिमिरेले अनुसन्धान भइरहेको मात्र बताए।
‘अनुसन्धान गर्ने एक मात्र निकाय प्रहरी हो। अहिले प्रहरीले अनुसन्धान गरिरहेको छ। अहिलेसम्म उहाँको सम्बन्धमा हामीले कुनै धारणा सार्वजनिक गरेका छैनौं,’ उनले भने।
सार्वजनिक अडियोलाई आधार मानेर नेपाली कांग्रेसका सभापतिलाई नै पक्राउ गर्न लागिएको भन्ने चर्चा सार्वजनिक भएका विषयमा पनि एसएसपी घिमिरेले अनुसन्धान जारी रहेको भन्दै कुनै धारणा सार्वजनिक गर्न मानेनन्।
