काठमाडौं — चीनमा भइरहेको यु–१९ बेल्ट एन्ड रोड शृङ्खलामा नेपाली युवा महिला क्रिकेट टोलीले लगातार चौथो जित हात पारेको छ। आज भएको खेलमा नेपालले आयोजक चीनलाई ८४ रनले पराजित गर्यो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १४१ रन बनाएको थियो। नेपालका लागि टीका शाहले ३५ बलमा अविजित ४३ रन बनाइन्। कप्तान सोनी पाख्रिनले ३१, सावित्री धामीले २४ र साना प्रवीनले १३ रनको योगदान दिए। चीनका तर्फबाट चुनजुङ वाङ र शुतिङ याङले दुई–दुई विकेट लिए।
जवाफमा १४२ रनको लक्ष्य पछ्याएको चीन १३.३ ओभरमा ५७ रनमै समेटियो। चीनका युफेई सुनले २७ बलमा सर्वाधिक २८ रन बनाइन्। नेपालका लागि रचना चौधरी र टीका शाहले तीन–तीन विकेट लिए।
ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गरेकी टीका शाह खेलकी उत्कृष्ट खेलाडी घोषित भइन्। शृङ्खलामा नेपालसहित आयोजक चीन, हङकङ र थाइल्यान्ड सहभागी छन्। नेपालले आगामी वर्ष घरेलु मैदानमा हुने आइसिसी यु–१९ महिला विश्वकपको तयारीका रूपमा यो शृङ्खला खेलिरहेको छ।
