काभ्रेपलाञ्चोक — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्म पार्टीले गरेका सबै काम विधान र प्रक्रियाअनुसारै भएको दाबी गरेका छन् । काभ्रेपलाञ्चोक जिल्ला कार्यसमितिले आयोजना गरेको बधाई तथा बृहत् रक्तदान कार्यक्रममा बोल्दै उनले पार्टीभित्र उठेका आशंकालाई निराधार भएको बताए ।
शर्माले राष्ट्रिय आवश्यकताका कारण पार्टीले विशेष महाधिवेशन गरेर १५औँ महाधिवेशनसम्मको यात्रा तय गरेको उल्लेख गरे । त्यसपछि देश र पार्टीलाई नयाँ तरिकाले अगाडि बढाउनुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ थियो ।
सामाजिक सञ्जालमा फैलिएका आर्थिक लेनदेनसम्बन्धी हल्लाप्रति कडा प्रतिक्रिया जनाउँदै उनले कार्यकर्तालाई सुनेको भरमा नपर्न आग्रह गरे । उनले सभापति गगन थापा एकपटक स्वास्थ्यमन्त्री बनेको र आफू जीवनमा कहिल्यै मन्त्री नबनेको स्मरण गराउँदै वर्षौँसम्म सत्तामा बसेका नेताहरू हुँदाहुँदै आफूहरू दुई जनाले मात्रै करोडौँ रकम बुझाउन सक्ने कुरा हास्यास्पद भएको टिप्पणी गरे ।
कुनै विचौलिया वा बैंक कसुर र डकैतीमा पक्राउ परेका व्यक्तिले प्रधानमन्त्री बनाउन ५० करोडको सम्झौता भएको र रकम नबुझाएकाले ५ करोड लुटिएको भन्यो भने त्यसलाई अदालत वा कानुनले स्वीकार गर्छ कि गर्दैन भनी उनले प्रश्न गरे ।
महाधिवेशनका सबै काम इमानदारीपूर्वक नियम र विधानअनुसार सम्पन्न भएको उल्लेख गर्दै शर्माले कांग्रेस अब देशका लागि सपना बोकेर अगाडि बढेको बताए ।
