सुर्खेत — दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा घरेलु प्रदेशको नतिजा सुधार्ने लक्ष्यसहित कर्णालीका खेलाडी बन्द प्रशिक्षणमा जाने भएका छन्। मुख्यमन्त्री मंगलबहादुर शाहीले खेलाडीलाई पदक हासिल गर्ने उद्देश्यका साथ योजनाबद्ध तयारी गर्न आग्रह गरेका छन्।
प्रतियोगिता आगामी मंसिर १६ देखि २७ गतेसम्म कर्णाली प्रदेशमा हुँदैछ। त्यसका लागि प्रदेश खेलकुद विकास परिषद्ले खेलाडीलाई चरणबद्ध रूपमा बन्द प्रशिक्षणमा राख्ने तयारी गरेको छ। पहिलो चरणमा ब्याडमिन्टन र ह्यान्डबलका खेलाडीको प्रशिक्षण कार्तिक २२ गतेदेखि सुरु हुनेछ।
मुख्यमन्त्री शाहीले खेलाडीको तयारीमा बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाएका छन्। उनले सहभागिता पूरा गर्नेभन्दा पनि प्रतिस्पर्धामा नतिजा निकाल्ने गरी तयारी गर्नुपर्ने बताए। प्रशिक्षण, खेल सामग्री र व्यवस्थापकीय पक्षमा ध्यान दिनुपर्ने उनको भनाइ छ।
परिषद्का सदस्यसचिव रविन्द्र चन्दका अनुसार सबै खेलका खेलाडीलाई एकैपटक बन्द प्रशिक्षणमा राखिने छैन। सम्बन्धित खेल सञ्चालन हुने मिति र तालिकाअनुसार प्रशिक्षणको समय निर्धारण गरिनेछ। यसअनुसार ३२ वटै खेलका खेलाडीलाई क्रमशः प्रशिक्षणमा सहभागी गराइने छ।
प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली संघसहितका टोलीले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको उद्घाटन मंसिर १६ गते हुनेछ। आफ्नै प्रदेशमा प्रतियोगिता हुँदा कर्णालीका खेलाडीलाई घरेलु मैदानमा क्षमता देखाउने अवसर मिलेको छ।
