२२ कात्तिक, गुल्मी । केही वर्ष विदेशमा काम गरेर फर्किएका एक युवाले आफ्नै गाउँमा फूलखेतीबाट भविष्य खोज्ने प्रयास थालेका छन्। गुल्मीको इस्मा गाउँपालिका–३ का गोकर्ण नेपालीले यस वर्ष तिहारलाई लक्षित गरेर पाँच रोपनी जमिनमा सयपत्री फूल लगाएका छन्, र अहिले उनको बारी फूलले ढकमक्क भएको छ।
गोकर्णले ग्यालेक्सी फर्ममार्फत कृषि व्यवसाय सञ्चालन गर्दै आएका छन्। स्वदेश फर्किएपछि उनले सुरुमा घाँसका बिरुवा उत्पादनबाट काम थालेका थिए। त्यसपछि बजारको माग बुझ्दै उनले पुष्प खेतीलाई पनि व्यवसायमा थपे। तिहारमा सयपत्री फूलको माग निकै बढ्ने भएकाले उनले यस पटक पाँच रोपनीमा व्यावसायिक रूपमा फूल खेती गरेका हुन्।
रोजगारीको खोजीमा धेरै युवा विदेशिइरहेको समयमा गोकर्ण भने आफ्नै गाउँको माटोमा अवसर खोजिरहेका छन्। परम्परागत खेतीमा मात्र सीमित नरही बजारको आवश्यकता अनुसार व्यावसायिक खेती गर्ने उनको तरिका गाउँका अन्य युवाका लागि पनि उदाहरण बन्न सक्छ।
तिहारको समयमा सयपत्री फूल घर सजाउन, माला उन्न र पूजामा प्रयोग हुन्छ, त्यसैले यसको माग उल्लेख्य रूपमा बढ्छ। यही मागलाई अवसरका रूपमा उपयोग गर्दै गोकर्णले आज र भोलि दुई दिनसम्म फूल टिपेर स्थानीय बजारसँगै तम्घासमा बिक्री गर्ने बताएका छन्।
