४ कात्तिक, सुर्खेत । देशभर दसैँको टीका ज्योतिषीले तोकेको शुभ साइतमा लगाउने प्रचलन छ । तर डोल्पाको त्रिपुराकोटमा भने पञ्चाङ्गको घडीभन्दा मन्दिरको पूजाविधि ठूलो मानिन्छ । यहाँ बाला त्रिपुरासुन्दरी मन्दिरमा नवरात्रभर चलेको पूजा सम्पन्न भएपछि मात्रै घरघरमा टीका लगाउने परम्परा छ ।
नेपालकै प्रसिद्ध शक्तिपीठमध्ये एक मानिने बाला त्रिपुरासुन्दरी मन्दिरमा औँसीदेखि सुरु हुने पूजाआजा दशमीका दिनसम्म चल्छ । दशमीको बिहान हरेक घरबाट जमरा र टीका चढाउन मन्दिर लगिन्छ । मन्दिरमा पूजाविधि सकिएपछि देवीलाई मूल मन्दिरमा भित्र्याइन्छ र त्यसपछि मात्रै गाउँमा टीकाटालो सुरु हुन्छ ।
पुजारी भानुचन्द्र उपाध्यायका अनुसार पूजाविधि साँझ मात्रै सकिन्छ, त्यसपछि बल्ल गाउँमा टीका सुरु हुन्छ । बिहानै मन्दिरमा जम्मा भएका ब्राह्मण, पुजारी र भक्तजनले एकअर्कालाई टीका–जमरा लगाएर शुभकामना साटासाट गर्ने गर्छन् । त्यसपछि पूजा विसर्जन गरिन्छ ।
साँझदेखि सुरु हुने टीकाटालो रातिसम्म चल्छ । ठूलो परिवारमा सबै सदस्य भेला हुन समय लाग्ने भएकाले कतिपय घरमा मध्यरातसम्म पनि टीका लगाउने चलन छ ।
देवीको पूजा पूरा नगरी टीका लगाउन नहुने, परम्परा तोड्दा अनिष्ट हुने विश्वास स्थानीयमा छ । पुर्खाले चलाएको धार्मिक विधि र देवीप्रतिको आस्थालाई निरन्तरता दिँदै आएको स्थानीय युवा रामचन्द्र न्यौपानेले बताए ।
त्रिपुराकोटबाहेक डोल्पाका दुनै, लिकु, पहाडा, रह, काइगाउँ, कालिका, जुफाल र माझफाल क्षेत्रमा भने पञ्चाङ्गअनुसारकै शुभ साइतमा टीका–जमरा लगाउने गरिन्छ ।
