नेपाल प्रिमियर लिगको तेस्रो संस्करण लिग चरणको अन्तिम चरणमा प्रवेश गरेको छ। कात्तिक ९ गते सुरु भएको प्रतियोगितामा २१ गतेसम्म १८ खेल सकिएका छन् र अब १० खेल मात्र बाँकी छन्। बाँकी खेल सकिएपछि शीर्ष चार टोली प्लेअफमा पुग्नेछन्। अहिलेसम्म कुनै टोलीको स्थान पक्का भएको छैन भने कुनै टोली बाहिरिएको पनि छैन।
अंकतालिकामा लुम्बिनी लायन्स सात अंकसहित शीर्ष स्थानमा छ। पाँच खेलमा तीन जित र एक खेल नतिजाविहीन भएको लुम्बिनीले शनिबार पहिलो हार बेहोरेको थियो। काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स समान ६ अंकसहित दोस्रो र तेस्रो स्थानमा छन्। चार खेलमा पाँच अंक जोडेको चितवन राइनोज चौथो स्थानमा छ।
जनकपुर बोल्ट्स, कर्णाली याक्स र विराटनगर किङ्स समान चार अंकसहित दौडमा छन् भने चारै खेल हारेका पोखरा एभेन्जर्स अंकविहीन छ। बाँकी खेलको नतिजाले शीर्ष चारको समीकरण बदल्नेछ। दुई टोलीको अंक विजोर भएकाले समीकरण अझ रोचक बनेको छ।
लुम्बिनी र काठमाडौंको प्लेअफ सम्भावना ६० प्रतिशत, सुदूरपश्चिम, चितवन र कर्णालीको ५० प्रतिशत, जनकपुर र विराटनगरको ४० प्रतिशत र पोखराको १० प्रतिशत रहेको आँकलन छ। पोखराले बाँकी तीनै खेल जिते पनि अन्य टोलीको नतिजामा भर पर्नुपर्नेछ।
सोमबार कर्णाली–पोखरा र चितवन–काठमाडौं, मंगलबार जनकपुर–सुदूरपश्चिम खेल हुनेछन्। बुधबार विश्रामपछि बिहीबारदेखि खेल पुनः सुरु हुनेछन् र आउँदो आइतबार लिग चरणका अन्तिम खेलसँगै शीर्ष चारको टुंगो लाग्नेछ।
