काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले प्रधानमन्त्रीका सल्लाहकारमाथि गम्भीर आरोप लगाएका छन्। आइतबार काठमाडौंको टोखामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले सल्लाहकारले आफूविरुद्धको प्रमाण मेटाएर आफूलाई अनुकूल हुने प्रमाण मात्र सार्वजनिक गरेको दाबी गरे।
पौडेलले सरकार जनताको स्वतन्त्रता खोस्ने दिशामा अघि बढिरहेको टिप्पणी गरे। नागरिकको स्वतन्त्रता नियन्त्रण गर्ने खालको निरंकुश प्रवृत्ति हाबी हुन थालेको उनको भनाइ थियो। जनताको अधिकार कुण्ठित गर्ने कुनै पनि कदम स्वीकार्य नहुने उनले बताए।
उनले सरकारलाई दुईतिहाइ मतको दुरुपयोग नगर्न आग्रह गरे। व्यवस्था ल्याउन भूमिका नखेल्नेहरूलाई पनि जनताले ठूलो मत दिएको भन्दै उनले त्यो जनमतलाई सही दिशामा प्रयोग गर्नुपर्ने बताए। जनताले दिएको विश्वासलाई सत्ताको स्वार्थमा प्रयोग गर्नु नहुने उनको तर्क थियो।
कांग्रेसभित्रको एकताबारे पनि पौडेलले आफ्नो धारणा राखे। उनले पार्टीको बृहत् एकताका लागि आफूले अधिकतम प्रयत्न गरिरहेको जानकारी दिए। विधिको शासन भएको मुलुकमा एउटै पार्टीका दुई सभापति, दुई झन्डा र दुई चुनावचिह्न हुन नसक्ने उनको भनाइ थियो।
कांग्रेसको अर्को पक्षको गतिविधि विधिको शासनको विपरीत रहेको पौडेलले बताए।
