काठमाडौं — चाडपर्वको उज्यालोले घरघर झिलिमिली भएको लक्ष्मीपूजाको साँझ देशको विद्युत् प्रणालीले अहिलेसम्मकै ठूलो चाप थेगेको छ। नेपाल विद्युत् प्राधिकरणको विवरणअनुसार आइतबार साँझ ६ बजेर १५ मिनेटमा राष्ट्रिय प्रणालीको उच्चतम माग १ हजार ८१३ मेगावाट पुग्यो।
त्यो बेला मुलुकभरबाट कुल २ हजार ४०० दशमलव ३० मेगावाट बिजुली उत्पादन भइरहेको थियो। घरेलु आवश्यकता पूरा भएपछि बाँकी रहेको ५८७ दशमलव ३० मेगावाट विद्युत् भारत र बंगलादेशतर्फ पठाइएको प्राधिकरणले जनाएको छ।
उत्पादनको स्रोत हेर्दा निजी क्षेत्रका जलविद्युत् आयोजनाले सबैभन्दा धेरै, १ हजार ५३६ दशमलव ५० मेगावाट, योगदान गरेका थिए। प्राधिकरणका सहायक कम्पनीबाट ४९९ दशमलव २० मेगावाट, प्राधिकरणकै जलाशय तथा नदी प्रवाही आयोजनाबाट ३४२ दशमलव ३० मेगावाट र भण्डारण (स्टोरेज) आयोजनाबाट २२ दशमलव ३० मेगावाट उत्पादन भएको थियो।
प्राधिकरणका अनुसार लक्ष्मीपूजाको दिन प्रणालीमा कुनै पनि अवरोध देखिएन र फ्रिक्वेन्सी ५० दशमलव १२० हर्जमा स्थिर रह्यो। काठमाडौं उपत्यकाको अधिकतम माग भने ४८९ दशमलव ५० मेगावाट पुग्यो।
अघिल्लो वर्षको सोही दिनको तुलनामा यसपालि माग ६८ मेगावाटले बढेको छ। गत वर्ष लक्ष्मीपूजामा १ हजार ७४५ मेगावाट खपत भएको थियो।
