सर्लाहीको हरिवन नगरपालिका–४, सासापुरका २२ वर्षीय जितेन्द्र महतोको जीवनमा आएको परिवर्तन धेरैका लागि प्रेरणा बनेको छ। १४ वर्षको उमेरदेखि ढुङ्गा–बालुवा बोकेर ज्याला–मजदुरी गर्ने उनी आज आफ्नै व्यवसायका मालिक छन् र उनका उत्पादन अमेरिकासम्म पुगिसकेका छन्।
जितेन्द्रको परिवारको मुख्य आम्दानी खेतीपाती र मजदुरी थियो। काम नियमित नहुँदा बिहान खाए बेलुका के खाने भन्ने चिन्ता हुन्थ्यो। २०७२ सालको भूकम्पले घर ढलेपछि परिवार झन् कठिनाइमा पर्यो।
२०७९ सालमा हरिवन वडा नं. ४ मा सञ्चालन भएको उद्यमशीलता तालिमले उनको बाटो बदलिदियो। वडाध्यक्ष केशवराज थापामार्फत तालिमबारे थाहा पाएका जितेन्द्रले त्यहाँ दुना–टपरी बनाउने सम्भावनाबारे सिके। वनमा खेर जाने पातबाट व्यवसाय गर्न सकिन्छ भन्ने कुरा उनले पहिले कहिल्यै सोचेका थिएनन्।
व्यवसाय सुरु गर्दा उनले ज्याला–मजदुरी गरेर जम्मा गरेको ८० हजार रुपैयाँ लगानी गरे। थप एक लाख रुपैयाँ सहकारीबाट ऋण लिए र पछि कृषि विकास बैङ्कबाट पनि ऋण लिएर व्यवसाय विस्तार गरे। लामो प्रक्रियापछि २०८१ सालमा व्यवसाय दर्ता भयो।
पहिलो वर्ष कारोबार करिब १५ देखि २० लाख रुपैयाँ पुगेको थियो। अहिले वार्षिक कारोबार ५० लाख रुपैयाँभन्दा बढी छ र कुल लगानी करिब ३० लाख रुपैयाँ पुगेको छ। उनको उत्पादन केन्द्रको मासिक क्षमता करिब एक लाख ५० हजार पिस छ।
दुना–टपरी बनाउन साल, सखुवा र भोर्लाका पात चाहिन्छ। पात सङ्कलन गर्ने काम मुख्यतः गाउँका महिलाले गर्छन्। अहिले करिब १५० महिला पात सङ्कलनमार्फत यो व्यवसायसँग जोडिएर अतिरिक्त आम्दानी गरिरहेका छन्। उत्पादन केन्द्रमा प्रत्यक्ष रूपमा करिब आठ जनाले काम गर्छन्।
जितेन्द्रका उत्पादन जनकपुर, काठमाडौं, पोखरा, बर्दिबास, वीरगन्ज र इलामलगायतका बजारमा पुग्छन्। हेल्भेटास नेपालको इन–इलम परियोजनाबाट बजार व्यवस्थापन र विदेशमा सामान पठाउने प्रक्रियामा उनले सहयोग पाए।
काठमाडौंमा आयोजित महिला उद्यम मेलामा स्टल राख्दा आयात–निर्यातकर्तामार्फत अमेरिकामा उत्पादन पठाउने अवसर आयो। पहिलो खेप २०८३ वैशाख ५ गते १० हजार पिस अमेरिकातर्फ पठाइयो र करिब एक महिनापछि जेठ ३ गते ३५ हजार पिसको दोस्रो खेप पठाइयो।
अबको पाँच वर्षमा उत्पादन ११० देशमा पुर्याउने, दैनिक उत्पादन क्षमता १० हजार पिस बनाउने र एक हजार जनालाई रोजगारी दिने उनको लक्ष्य छ।
