काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गाईपूजाले मानिस र अन्य प्राणीबीच सहअस्तित्वको भावना तथा संरक्षणप्रतिको चेतना बलियो बनाउने बताएका छन्।
यमपञ्चकको गाई तिहारका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले गाईलाई वैदिक कालदेखि नै नेपाली समाजमा मातृत्व, करुणा, पोषण र समृद्धिको प्रतीकका रूपमा सम्मान गरिँदै आएको स्मरण गरेका छन्। गाईपूजा केवल धार्मिक आस्थाको विषय मात्र नभएको उनको भनाइ छ।
ओलीका अनुसार यो पर्व जीवजन्तु र प्रकृतिसँगको आत्मीय सम्बन्ध, ऋतु अनुसार विकसित जीवनशैली र पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको सभ्यताको स्मृतिसँग पनि जोडिएको छ। उनले गाईपूजाले मानिस र प्राणी जगत्बीचको सहअस्तित्वलाई आत्मसात् गर्ने सांस्कृतिक चेतना जगाउने बताए।
पूर्वप्रधानमन्त्री ओलीले गाईपूजा तथा तिहारका अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको कामना गर्दै हार्दिक शुभकामना व्यक्त गरेका छन्।
