काठमाडौं । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले नेपाल संवत् नेपाली सभ्यताको मौलिकता, उदारता, सामाजिक न्याय र मानवीय सहअस्तित्वको जीवन्त प्रतीक रहेको बताएका छन् । नेपाल संवत् ११४७ को शुभारम्भको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले यो संवत्ले नेपाली समाजलाई पारस्परिक विश्वास, सामाजिक सद्भाव र सहकार्यको भावना बलियो बनाउने विश्वास व्यक्त गरे ।
उपराष्ट्रपतिले राष्ट्रिय विभूति शङ्खधर साख्वाको स्मरण गर्दै उहाँले लोककल्याणको भावनाबाट प्रेरित भएर पीडित जनतालाई ऋणबाट मुक्त गराएको ऐतिहासिक कार्यले नेपाली समाजमा सेवा, परोपकार र सामाजिक उत्तरदायित्वको उच्च आदर्श स्थापित गरेको बताए । साख्वाले देखाएको मानवतावादी मार्ग आज पनि राष्ट्रिय जीवनका लागि उत्तिकै प्रेरणादायी र अनुकरणीय रहेको उनको भनाइ छ ।
नयाँ वर्षको प्रारम्भसँगै आत्मसमीक्षा गर्ने, नयाँ सङ्कल्प गर्ने र सकारात्मक परिवर्तनको अवसर प्राप्त हुने उनले बताए । नेपाल संवत्ले विगतको गौरवलाई मात्र सम्झाउने नभई वर्तमानलाई जिम्मेवारीपूर्वक आत्मसात् गर्दै भविष्यलाई अझ उज्यालो बनाउने प्रेरणा दिने उनको सन्देशमा उल्लेख छ ।
उपराष्ट्रपतिले यस मौलिक संवत्ले सम्पूर्ण नेपालीमा पारस्परिक विश्वास, सामाजिक सद्भाव, सहयोग, शान्ति र सहकार्यको भावना अभिवृद्धि गरोस् भन्ने कामना गरे । युवापुस्तामा सिर्जनशीलता, उद्यमशीलता र राष्ट्रनिर्माणप्रतिको प्रतिबद्धता विकास होस् भन्ने उनको शुभेच्छा छ । साथै, सबैलाई लोकतान्त्रिक मूल्य, राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता तथा राष्ट्रिय हितको संरक्षण र सम्वर्धनमा थप जिम्मेवार र सक्रिय बन्न प्रेरित गरोस् भन्ने उनले बताए ।
समुन्नत, समावेशी, न्यायपूर्ण र समृद्ध नेपालको साझा आकांक्षा पूरा गर्ने यात्रामा नेपाल संवत्ले सम्पूर्ण देशवासीलाई सकारात्मक ऊर्जा, प्रेरणा र आत्मविश्वास प्रदान गरोस् भन्ने कामना गर्दै उपराष्ट्रपतिले सन्देश समापन गरेका छन् ।
