काठमाडौं । प्रधानमन्त्री बालेन शाहले नेपाल संवत् ११४७, म्ह पूजा, गोवर्धन पूजा र हली तिहारको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका छन्। सामाजिक सञ्जालमार्फत सन्देश दिँदै उनले यी पर्वहरूले नेपाली समाजमा सद्भाव, आत्मबल र एकताको भावना बलियो बनाउने विश्वास व्यक्त गरे।
प्रधानमन्त्री शाहले राष्ट्रिय विभूति शङ्खधर साख्वाःले जनतालाई ऋणबाट मुक्त गराएर थालनी गरेको नेपाल संवत् चन्द्रमामा आधारित नेपालीहरूको मौलिक समयगणना र पहिचान भएको बताए। यो संवत्ले नेपाली संस्कृतिको गौरवशाली इतिहास झल्काउने उनको भनाइ छ।
नेवार समुदायले मनाउने म्ह पूजाको अर्थ आफ्नै शरीरभित्रको चेतनालाई साक्षी राखेर आफैँले आफैँलाई पूजा गर्नु रहेको उनले उल्लेख गरे। अष्टचिरञ्जीवीको प्रतीक मण्डपअघि गरिने यो पूजाले मानिसमा आत्मशुद्धि र चेतनाको बोध गराउने र समुदायभित्र आपसी सद्भाव तथा जातीय एकता प्रगाढ बनाउने उनको भनाइ छ।
गोवर्धन पूजाका बारेमा प्रधानमन्त्रीले भगवान् श्रीकृष्णले गोवर्धन पर्वत उचालेर द्वारिकावासीलाई जोगाएको कथासँग जोडिएको प्रसङ्ग स्मरण गरे। यस दिन कृषिकर्मका साथी गोरुलाई पिठो र नुन खुवाइने तथा हलो र फालीजस्ता कृषि औजारको पूजा गरिने परम्परा रहेको उनले बताए।
हिजो भैलोका भाका र आज देउसीको उल्लासले छरछिमेकमा आत्मीयता थपेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले यी मौलिक चाडपर्वले रिसराग बिर्सेर सामाजिक एकता र सहिष्णुताको भावना सधैँ बलियो बनाउन प्रेरित गर्ने कामना गरे।
