कास्की प्रहरीले पोखराको लेकसाइड क्षेत्रमा सञ्चालन गरिरहेको ‘अपरेसन सभ्यता’ अन्तर्गत एकै रातमा थप १८ जनालाई नियन्त्रणमा लिएको छ। पर्यटकलाई दुःख दिने, झैझगडा गर्ने र अवाञ्छित गतिविधि रोक्ने उद्देश्यले चलाइएको यस अभियानमा प्रहरीले ३८ वटा सवारीसाधनमाथि पनि कारबाही गरेको छ।
जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामको संयुक्त टोलीले कात्तिक २४ गते राति १ बजेदेखि बिहान ५ बजेसम्म पोखरा महानगरपालिका–६ को लेकसाइड क्षेत्रमा विशेष निगरानी गरेको थियो। सो क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने, होहल्ला गरी शान्ति भंग गर्ने र अनैतिक क्रियाकलापमा संलग्न १८ जना पुरुष पक्राउ परेका हुन्।
पक्राउ परेकामध्ये १७ जना मादक पदार्थ सेवन गरी झैझगडा गर्ने र एक जना चोरीसम्बन्धी कसुरका आरोपी रहेको प्रहरीले जनाएको छ।
जाँचका क्रममा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि पनि कारबाही भएको छ। नियन्त्रणमा लिइएका ३८ सवारीसाधनमध्ये २४ वटामाथि मादक पदार्थ सेवनको कसुरमा कारबाही गरिएको छ। नौवटा सवारीसाधनलाई अन्य ट्राफिक नियम उल्लङ्घनमा जरिवाना गरिएको छ भने बाँकी पाँचवटा वडा प्रहरी कार्यालय बैदाममा राखी थप अनुसन्धान अघि बढाइएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार पक्राउ परेकामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया सुरु गरिएको छ।
लेकसाइडलाई मर्यादित, सुरक्षित र पर्यटकमैत्री बनाउन प्रहरीले अभियानलाई निरन्तरता दिइरहेको छ। हालसम्म ‘अपरेसन सभ्यता’ अन्तर्गत ९० जना पुरुष र ६ जना महिला गरी ९६ जनालाई कारबाहीको दायरामा ल्याइएको छ भने विभिन्न कसुरमा २१२ वटा सवारीसाधनमाथि कारबाही गरिएको प्रहरीको अद्यावधिक तथ्यांकमा उल्लेख छ।
