बुटवल — नेपाली कांग्रेसभित्रको देउवा पक्षले लुम्बिनी प्रदेशमा भोलिदेखि जिल्ला अधिवेशन थाल्ने भएको छ। कात्तिक ३० भित्र सबै अधिवेशन सक्ने गरी तय गरिएको कार्यतालिकाअनुसार अधिवेशनको सुरुआत भोलि कात्तिक १० गते रोल्पाबाट हुनेछ।
देउवा पक्षका लुम्बिनी प्रदेश संयोजक गेहेन्द्र गिरीका अनुसार कात्तिक १५ गते कपिलवस्तु, १६ गते दाङ र १७ गते प्युठानमा जिल्ला अधिवेशन हुनेछ। तोकिएका मितिअनुसार सम्बन्धित जिल्लामा तयारी तीव्र पारिएको उनले बताए।
प्रदेशका बाँकी जिल्लामा पनि अधिवेशनको मिति टुङ्ग्याउने काम भइरहेको गिरीको भनाइ छ। केन्द्रले तोकेको समयसीमाभित्र लुम्बिनीका सबै १२ जिल्लामा अधिवेशन सम्पन्न गर्ने योजना रहेको उनले बताए। मिति टुङ्गिएलगत्तै सम्बन्धित जिल्लामा तयारी अघि बढाइने उनको भनाइ छ।
यसरी रोल्पाबाट सुरु हुने अधिवेशन शृंखला कात्तिक ३० सम्म चल्नेछ र त्यस अवधिमा प्रदेशका सबै जिल्लामा जिल्ला नेतृत्व चयनको प्रक्रिया पूरा हुने अपेक्षा गरिएको छ।
