इरानले कूटनीतिक प्रतिबद्धता उल्लङ्घन गरेको आरोप लगाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आलोचना गरेको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले १४ बुँदे समझदारीपत्रबारे ट्रम्पको टिप्पणीले अमेरिकाको कूटनीतिक प्रतिबद्धताको खोक्रोपन उजागर गरेको बताएका छन्।
सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै बाघाईले अमेरिकाले आफ्ना प्रतिबद्धता अस्वीकार गर्ने र अन्तर्राष्ट्रिय दायित्वलाई आफूअनुकूल व्याख्या गर्ने गरेको आरोप लगाएका छन्। युरोपेली समर्थकले अमेरिकालाई जवाफदेहिताबाट जोगाउन खोजेको उनको आरोप छ। अन्तर्राष्ट्रिय कानुन छानेर लागू गर्न नमिल्ने उनको भनाइ छ।
यसअघि बुधबार टेक्सासको लुब्बकमा आयोजित चुनावी सभामा ट्रम्पले अमेरिकाले इरानसँग युद्ध सुरु नगरेको, बरु इरानले सन् १९७९ देखि अमेरिकाविरुद्ध द्वन्द्व चलाएको आरोप लगाएका थिए। उनले अघिल्ला अमेरिकी नेताहरूले यो समस्या पहिले नै समाधान गर्नुपर्ने बताउँदै आफूले चाहेको बेला युद्ध अन्त्य गर्न सक्ने दाबी गरेका थिए। मिसिसिपीमा उनले युद्धविरामलाई समयको बर्बादी भनेका थिए।
यसैबीच, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले राष्ट्रपति ट्रम्पसँगको साझेदारीमा इरानी शासनबाट उत्पन्न खतरा हटाउने ऐतिहासिक अवसर इजरायलसँग रहेको बताएका छन्। निर्वाचन परिणामको प्रतीक्षा भइरहेका बेला जेरुसेलमस्थित लिकुड पार्टीको निर्वाचन मुख्यालयमा उनले यस्तो अभिव्यक्ति दिएका हुन्।
उता, इरानका सर्वोच्च नेता अयातुल्ला मोजताबा खमेनीले हर्मुज जलघाँटीमाथिको नियन्त्रणलाई राष्ट्रिय तथा क्षेत्रीय सुरक्षाका लागि महत्त्वपूर्ण बताएका छन्। सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मेजर जनरल मोहसेन रेजाईसँगको भेटपछि उनले छिमेकी देशहरूसँग पारस्परिक हितका आधारमा सम्बन्ध सुदृढ गर्न र युद्ध तथा शान्तिबीचको अनिश्चित अवस्था अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए। उनले देशको रक्षामा जनसहभागिता कायम राख्न प्रभावकारी सञ्चार आवश्यक रहेको पनि उल्लेख गरेका थिए। इरानविरुद्ध कुनै पनि सैन्य कारबाही भए त्यसको परिणाम भोग्नुपर्ने रेजाईको चेतावनीपछि यी अभिव्यक्ति आएका हुन्। तेहरानले थप टकराव रोक्न सकिने अवस्थामा कूटनीतिलाई प्राथमिकता दिएको जनाएको छ।
