धनकुटा । ताप्लेजुङबाट काठमाडौंतर्फ गइरहेको यात्रुबाहक बस शुक्रबार अपराह्न बाढीमा फसेको छ। पाँचथर र धनकुटाको सीमामा पर्ने नावा खोलामा पानीको बहाव बढेपछि जोखिम मोलेर खोला पार गर्न खोज्दा बस बीचमै अड्किएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
बसमा सवार करिब ३० यात्रु सबैलाई जेसिबीको सहायताले सुरक्षित ठाउँमा सारिएको प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताए। फसेको बसलाई पनि जेसिबी लगाएर खोलाबाट निकालिएको छ। बसको नम्बर प्रदेश १–०१–००१ ख ४२३३ रहेको छ।
बिहीबार बिहानैदेखि परेको निरन्तर वर्षाका कारण नावा खोलासहित क्षेत्रका विभिन्न खोलामा पानीको सतह बढेको छ। पानीको बहाव उच्च भएपछि तमोर करिडोर सडकखण्डमा यातायात पूर्ण रूपमा ठप्प भएको छ।
विराटनगरसहित मोरङ र सुनसरीका तराई क्षेत्रलाई धनकुटा, पाँचथर र तेह्रथुम हुँदै ताप्लेजुङसँग जोड्ने यो मार्ग क्षेत्रका लागि अत्यन्त महत्त्वपूर्ण छ। तर नावा खोलामा अहिलेसम्म पक्की पुल नबन्दा वर्षायाममा बाढी आउनासाथ सडक अवरुद्ध हुने समस्या दोहोरिँदै आएको छ। पुल निर्माणको ठेक्का लागे पनि पटकपटक म्याद थपिँदा समेत काम सम्पन्न हुन नसकेको छ, जसले यात्रु र स्थानीयवासीले आवतजावतमा सास्ती भोग्नुपरेको छ।
